बिहीबार, १० सेप्टेम्बर, २०२६
19:45 | ००:३०

बद्री र दुर्गेशपछि समीक्षा पनि लन्डनमा, ‘तीज फर अ कज’को तयारी अन्तिम चरणमा

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२६

लन्डन- यही शुक्रबार लन्डनमा आयोजना हुने तीज विशेष सांगीतिक कार्यक्रम ‘तीज फर अ कज’ मा प्रस्तुति दिन गायिका समीक्षा अधिकारी लन्डन आइपुगेकी छन्।

न्युजिल्यान्डबाट सिधै लन्डन आएकी अधिकारीलाई आयोजक मिलानोयर इभेन्ट्स का तर्फबाट खेमराज रानाभाटलगायत आयोजक टोलीका सदस्य तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए।

यसअघि कार्यक्रमका अर्का मुख्य कलाकार बद्री पंगेनी र दुर्गेश थापा बुधबार साँझ लन्डन आइपुगेका थिए। समीक्षा पनि लन्डन आइपुगेपछि कार्यक्रमका तीनै मुख्य कलाकार अहिले बेलायतमा छन्।

मिलानोयर इभेन्ट्सको आयोजनामा ११ सेप्टेम्बर, शुक्रबार, इष्ट लन्डनको म्यानर पार्क स्टेसननजिकै रहेको द रोयल रेजेन्सी मा कार्यक्रम हुँदैछ। कार्यक्रममा बद्री पंगेनी, दुर्गेश थापा र समीक्षा अधिकारीले आ–आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्।

आयोजकका अनुसार कलाकारहरूको आगमनसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

कार्यक्रमलाई सुरुवातमा ‘तीज धमाका २०८३’ का रूपमा आयोजना गर्ने तयारी गरिएको थियो। तर नेपालमा आएको बाढी र त्यसबाट भएको जनधनको क्षतिपछि कार्यक्रमको स्वरूप र उद्देश्य परिवर्तन गर्दै नाम ‘तीज फर अ कज’ राखिएको हो।

आयोजकले कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी बाढीपीडितका लागि सहयोग जुटाउने अभियानसँग जोडिएको जनाएको छ।

बेलायतमा तीजका अवसरमा हरेक वर्ष विभिन्न समुदाय तथा संघसंस्थाले कार्यक्रम आयोजना गर्दै आएका छन्। तर यसपटक नेपालका फरक सांगीतिक धारका तीन चर्चित कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएकोले कार्यक्रमको स्वरूप विगतका नियमित सामुदायिक तीज कार्यक्रमभन्दा केही फरक हुने आयोजकको दाबी छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू