बिहीबार, १० सेप्टेम्बर, २०२६
10:32 | १५:१७

१९औं रेडिङकप अक्टोबर १० मा, टीम दर्ता शुरु

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२६

लन्डन- बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको रेडिङकप फुटबल प्रतियोगिताको १९ औं संस्करण आउँदो अक्टोबर १० तारिख शनिबार हुने भएको छ ।

ग्रेटर रेडिङ नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा रेडिङको पाल्मर पार्कमा प्रतियोगिता सञ्चालन हुनेछ ।

१९ औं रेडिङकप संयोजक मीनकुमार गुरुङका अनुसार यसपटकको रेडिङकपमा युवा, भेट्रान (३८ वर्षमाथि) र सुपर भेट्रान (४५ वर्षमाथि) गरी तीन विधामा प्रतिस्पर्धा गराइनेछ ।

रेडिङकपमा सहभागिताका लागि बेलायतभरका खेलाडीहरुलाई यही सेप्टेम्बर ३० तारिखभित्र आफ्नो टीम दर्ता गर्न आव्हान गरिएको छ । टीम दर्ता शुल्क युवा र भेट्रान विधामा २ सय ६० पाउण्ड तथा सुपरभेट्रानमा २ सय २५ पाउण्ड राखिएको छ ।

युवा विधामा विजेतालाई २०२६ पाउण्ड र उपविजेतालाई १०२६ पउण्ड नगदसहित पुरस्कृत गरिनेछ । भेट्रान विधामा विजेतालाई १०२६ पाउण्ड तथा उपविजेतालाई ५ सय २६ पाउण्ड र सुपरभेट्रान विधामा विजेतालाई ५ सय २६ पाउण्ड तथा उपविजेतालाई ३ सय २६ पाउण्ड नगदसहितको पुरस्कार प्रदान गरिनेछ ।

सो अवसरमा १२ देखि १५ वर्ष उमेर समूहमा मैत्रीपूर्ण फुटबल तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पेनाल्टी किक आउटजस्ता मनोरञ्जनात्मक खेलकुद पनि सञ्चालन गरिनेछ ।

रेडिङकपस्थलमा नेपाली खाना र व्यापारका विभिन्न स्टलहरुसंगै स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । पञ्चेबाजासहितका अन्य सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधि पनि रहनेछन् ।

आयोजक जीआरएनसीका महासचिव डा भरत पौडेलले सहभागिताका लागि इच्छुक टीमहरुलाई समयभित्रै नाम दर्ता गर्न आव्हान गरे । अध्यक्ष भीमसेन खड्काले बेलायतवासी सिंगो नेपाली समुदायलाई कार्यक्रममा आमन्त्रण गरेका छन्।

खेलाडीहरुलाई हौसला प्रदान गर्नका साथै नेपाली खानादेखि विभिन्न व्यापार, व्यवसाय र सेवाका स्टल र मनोरञ्जनात्मक गतिविधिसमेत रहेकाले एक पूर्ण ‘फेमिली डे आउट’ इभेन्टका रुपमा इन्जोइ गर्न आयोजकले आग्रह गरेको छ।

यसअघि सेप्टेम्बर ५ लाई तय यो प्रतियोगिता मैदानसम्बन्धी प्राविधिक समस्याका कारण नयाँ मितिमा गर्न लागिएको हो ।

टीम दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू