नेपाल– बेलायतबीच व्यापार र आईटी सहकार्य विस्तारमा बीएनसीसीको जोड


लन्डन । नेपाल–बेलायतबीच व्यापारिक सम्बन्ध विस्तार तथा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई अन्तरराष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले लन्डनस्थित नेपाली दूतावासमा व्यवसायिक तथा नेटवर्किङ कार्यक्रम गरेको छ।
कार्यक्रमले नेपालको तीव्र रूपमा विकास भइरहेको आईटी क्षेत्रलाई बेलायतलगायत अन्तरराष्ट्रिय बजारसँग जोड्ने सम्भावना र नेपालको आर्थिक विकासमा नेपाली डायस्पोराले खेल्न सक्ने महत्वपूर्ण भूमिकालाई उजागर गरेको आयोजकले बताएका छन्।
मंगलबार अपरान्ह आयोजित कार्यक्रममा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आइटी) का प्रतिनिधिमण्डलसहित बेलायतमा रहेका व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ, पेशाकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
नेपालमा हालै आएको बाढीमा ज्यान गुमाउनेहरू तथा गत वर्ष भएको ‘जेन जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा कार्यक्रमको सुरुमा एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालको युवा जनसंख्या र उच्चस्तरको आईटी साक्षरता मुलुकका महत्वपूर्ण प्रतिस्पर्धात्मक क्षमता भएको बताए।
उनले नेपाली आईटी कम्पनीहरूले विश्वका विभिन्न मुलुकका व्यवसायलाई सेवा प्रदान गरिरहेको उल्लेख गर्दै सरकारले आईटी क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा थप विकास गर्न चाहेको बताए।
उनले नेपाल–बेलायत व्यापारिक सम्बन्ध विस्तारमा बीएनसीसीले निरन्तर गर्दै आएको प्रयासको प्रशंसा गर्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए।

काठमाडौंस्थित ब्रिटिश दूतावासको व्यापार तथा वाणिज्य विभागका प्रमुख अनुप श्रेष्ठले पनि नेपालको आईटी क्षेत्रको बढ्दो सम्भावना र बेलायतको बजारमा उपलब्ध अवसरबारे चर्चा गरे।
उनले नेपाली प्रविधि कम्पनीहरूलाई बेलायतको बजारमा प्रवेश गर्न तथा आफ्नो व्यवसाय विस्तारका लागि पहल गर्न आग्रह गर्दै नेपाल र बेलायतका व्यवसायबीच थप सहकार्यका लागि ब्रिटिश दूतावास सहजीकरण तथा सहयोग गर्न तयार रहेको उनले बताए।
आफ्नो प्रस्तुतिमा नास-आइटीका उपाध्यक्ष विभूषण विष्टले नेपालको आईटी क्षेत्रको अवस्थाबारे जानकारी दिँदै नेपाली प्रविधि कम्पनीहरूले विश्व बजारका ग्राहकलाई सेवा प्रदान गरिरहेको देखाउने भिडियोसमेत प्रस्तुत गरे।
आफ्नै प्रविधि व्यवसायमा हासिल गरेको सफल अनुभव साझा गर्दै विष्टले नेपाली आईटी क्षेत्रको विकासमा बेलायतलगायत अन्तरराष्ट्रिय बजारसँग जोडिनुपर्नेमा जोड दिए।
उनले नेपाली डायस्पोरालाई नेपालको आईटी क्षेत्रको विकासमा थप सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै अन्तरराष्ट्रिय सम्पर्क विस्तार, व्यवसायिक अवसर पहिचान तथा बेलायतजस्ता अन्तरराष्ट्रिय बजारमा पहुँच स्थापित गर्न सहयोग गर्न आह्वान गरे।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष चण्डीराज ढकाल तथा श्रीलंका फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष एवं सार्क चेम्बरका वरिष्ठ उपाध्यक्ष डा. रोहिथा सिल्भालगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
त्यसैगरी वेस्ट लन्डन चेम्बर अफ कमर्सकी उपाध्यक्ष डा. रेणु राज तथा चिल्ड्रेन भिजन नेपालका संस्थापक एवं ‘जेन जी’ पुस्तकका लेखक रमेश सिलवालले पनि कार्यक्रममा मन्तव्य राखेका थिए।
औपचारिक सत्र समापन गर्दै बीएनसीसीका अध्यक्ष बिराज भट्टले कार्यक्रममा सहभागी तथा नेपालबाट आएका प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै नेपाल र बेलायतबीच व्यापार तथा व्यवसाय प्रवर्द्धन र सहजीकरणमा बीएनसीसीले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पारे।
बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा औपचारिक सत्रपछि रात्रिभोज तथा नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवसरमा सहभागीहरूले नेपालबाट आएको प्रतिनिधिमण्डलसँग प्रत्यक्ष भेटघाट गर्दै सम्भावित व्यावसायिक सहकार्यका क्षेत्रबारे छलफल गरे।
तस्वीर: शिव भण्डारी

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


