एनआरएनएको राहत अभियान दशौं दिनमा, तुप्चेमा स्वास्थ्य शिविर


काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) टोली दशौ दिन पनि फिल्डमा खटियो ।
बाढी प्रभावित परिवारहरूको स्वास्थ्य आवश्यकतालाई लक्षित गर्दै एनआरएनएको आयोजना तथा मेट्रो अस्पतालको सहकार्यमा नुवाकोटको तुप्चेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
एनआरएनए ग्लोवल हेल्थ कमिटीकी सह–अध्यक्ष प्रसुना कँडेल नेतृत्वमा सञ्चालित शिविरमा करिब ९० जना बाढी प्रभावित बालबालिका, महिला लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा मेट्रो अस्पतालका डा. अशोक कार्की, म्यानेजिङ डाइरेक्टर केशव राज खनाल, अस्पताल व्यवस्थापन तथा मानसिक स्वास्थ्य परामर्शदाता फपेन्द्र न्यौपाने र स्टाफ नर्स संगीता रिजाल सहभागी थिए । सो अवसरमा बाढी प्रभावितहरूलाई आवश्यक औषधिसमेत उपलब्ध गराइएको थियो ।
स्वास्थ्य शिविरमा विशेषगरी दीर्घरोगसम्बन्धी समस्या बढी देखिएको थियो भने ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा संक्रामक रोगसँग सम्बन्धित लक्षण भएका बिरामीहरू पनि भेटिएका थिए।
यसअघि हिजो त्रिशुली प्रादेशिक अस्पतालको समन्वयमा स्टार स्कुलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
पशुपति क्रियापुत्रीघरमा थप राहत सामग्री
विनाशकारी बाढीका कारण आफन्त गुमाई काठमाडौं आएर पशुपतिस्थित क्रियापुत्री घरमा काजक्रिया गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका प्रभावित परिवारलाई एनआरएनएले आज थप राहत सामग्री उपलब्ध गराएको छ। उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टीका), महासचिव डा चिरन्जीवी खड्का, प्रमुख संरक्षक डा बद्री केसी लगायतले क्रियापुत्री घरमा रहेका परिवारको आवश्यकतालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । यसअघि हिजो उक्त परिवारहरुलाई खाद्यान्न, चुलो लगायतका सामग्री दिइएको थियो ।
एलो गुम्बामा पनि थप राहत सामग्री
विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौंको एलो गुम्बामा आश्रय लिइरहेका रसुवाका विस्थापित परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले थप राहत सामग्री हस्तान्तरण गरेको छ।
बाढीका कारण घरबारविहीन भई एलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै एनआरएनएले यसअघि पनि राहत सामग्री उपलब्ध गराउँदै आएको थियो। सोही क्रममा त्यहाँ रहेका महिलाहरुको मागअनुसार उनीहरुका लागि आवश्यक लत्ताकपडा, बालबालिकाको लागि आवश्यक तेल, स्याम्पु लगायतका थप राहत सामग्री उपलब्ध गराइएको हो।
एनआरएनएले बाढी प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनस्र्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को सहकार्यमा मानवीय सहयोग अभियान सञ्चालन गरिरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


