बाढीपीडितका लागि चार भञ्ज्याङ तमु समाज यूकेको १५ लाख सहयोग


गत आइतबार सम्पन्न १७ औं नेपाली मेलामा सहभागी हुँदै चार भञ्ज्याङ तमु समाज यूकेको टीम।
लन्डन- चार भञ्ज्याङ तमु समाज यूकेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा मंगलबार बेलुका बसेको आकस्मिक बैठकले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको थियो। बैठकले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै विपद्को यस घडीमा देश तथा विदेशमा रहेका सम्पूर्ण चार भञ्ज्याङ सदस्यहरूलाई एकजुट भई सहयोग गर्न अपिलसमेत गरेको छ।
बैठकले बाढीपीडितका लागि पाँच लाख रुपैयाँ तत्काल राहतका रूपमा चार भञ्ज्याङ तमु समाजकी चेली तथा सम्बन्धित क्षेत्रकी जनप्रतिनिधि माननीय बिना गुरुङमार्फत नेपाल पठाइसकेको छ।
बाँकी १० लाख रुपैयाँ चार भञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङको संयोजनमा नेपाल, बेलायत, हङकङ, युरोप र जापानलगायत सातवटा एकाइसँग समन्वय गरी स्वयंसेवी योगदानमार्फत संकलन गरिनेछ। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने संस्थाले जनाएको छ।
चार भञ्ज्याङ तमु समाज यूकेले यसअघि पनि नेपालमा आइपरेका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको छ।
सन् २०१५ को विनाशकारी भूकम्पका समयमा संस्थाले पर्वतको चार भञ्ज्याङ क्षेत्रका लागि पाँच हजार पाउन्ड, तमु धीं यूकेमार्फत एनआरएनलाई तीन हजार पाउन्ड तथा प्रधानमन्त्री राहत कोषमा दुई हजार पाउन्ड गरी कुल १० हजार पाउन्ड मानवीय सहयोग गरेको थियो।
त्यसैगरी, सन् २०२० को कोभिड–१९ महामारीका समयमा एनआरएनमार्फत पाँच लाख रुपैयाँ सहयोग गर्नुका साथै चार भञ्ज्याङ क्षेत्रमा रहेको लुङ्खु देउराली अस्पतालका लागि चार वटा भेन्टिलेटर, अक्सिजन मोनिटर तथा अन्य आवश्यक स्वास्थ्य सामग्री व्यक्तिगत संकलनमार्फत उपलब्ध गराएको थियो।
बैठकमा चार भञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङ, यूके तथा आइसीसी पूर्वअध्यक्ष ले चन्द्र गुरुङ, प्रमुख सल्लाहकार क्याप्टेन कृष्णबहादुर गुरुङ, आमा प्रमुख अमला गुरुङ, पूर्वअध्यक्षहरू मेजर कृष्ण गुरुङ र मदन गुरुङ, सल्लाहकार तथा तमुधिं यूकेका पूर्वअध्यक्षहरू ज्ञाम गुरुङ र हरि गुरुङ, सल्लाहकार टेकबहादुर गुरुङ, उपाध्यक्ष अमर गुरुङ, कोषाध्यक्ष विमला गुरुङ तथा कल्चरल सेक्रेटरी प्रकाश गुरुङलगायत कार्यसमितिका सदस्यहरूको उपस्थिति थियो। बैठक महासचिव अनिल गुरुङले सञ्चालन गरेका थिए।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


