तेस्रो साझा भजन महोत्सव सोमबार, सबै बचत बाढीपीडितलाई पठाइने

लन्डन- साझा नेपाली समाज यूकेले आउँदो सोमबार ३१ अगस्टमा आयोजना गर्ने तेस्रो भजन तथा खेलकुद महोत्सवबाट संकलन हुने सम्पूर्ण रकम बाढीपीडितलाई सहयोग गर्ने भएको छ ।
नेपालमा बाढीको विपदपछि विहीबार सम्पन्न आयोजक समितिको आकस्मिक बैठकले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै महोत्सव सञ्चालन गर्ने निर्णय गरेको महोत्सवका संयोजक एवम् समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।
महोत्सवको खर्च कटाएर बचत हुने सम्पूर्ण रकम नेपालका बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय भएको संयोजक सापकोटाले बताए।
संस्थाका पूर्वअध्यक्षहरू तथा ट्रस्टी बोर्डका सदस्यहरूलगायतको सहभागितामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा होत्सव सञ्चालन गर्ने र सहयोग पठाउने निर्णय लिएको हो । कार्यक्रम सम्पन्न भएलगत्तै बचत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
संयोजक सापकोटासहित अध्यक्ष नारायण फुयांल नेतृत्वको वर्तमान कार्यसमिति, ट्रस्टी बोर्ड तथा सम्पूर्ण पूर्वअध्यक्षज्यूहरूले बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, सञ्चारकर्मी तथा सिंगो नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन हार्दिक आग्रह गरेका छन्।
महोच्सवका अवसरमा नेपालका बाढीपीडितका लागि दिनभर सहयोग संकलन गरिनेछ। बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरिनुका साथै घाइते, बेपत्ता तथा विस्थापित परिवारप्रति समवेदना र सहानुभूति प्रकट गरिने कार्यक्रम पनि छ।
संयोजक सापकोटाले महोत्सवमा हुने सहभागिताले नेपाली कला, संस्कृति र खेलकुदको प्रवर्द्धनका साथै विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई प्रत्यक्ष सहयोग पु¥याउने भएकाले सबैलाई सहभागी हुन आव्हान गरे ।
मातृभूमि संकटमा परेको अवस्थामा महोत्सवले प्रवासमा रहेका नेपालीबीचको एकता, सहकार्य र मानवीय सेवाको भावनालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष नारायण फुंयालले बताए ।
साझा नेपाली समाज यूकेले मानवीय सेवाको यस अभियानमा सहभागी भई कार्यक्रम सफल बनाउन तथा बाढीपीडितको सहयोगका लागि हातेमालो गर्न बेलायतवासी सिंगो नेपाली समुदायसँग अपिल गरेको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


