शुक्रबार, २८ अगस्ट, २०२६
10:07 | १४:५२

नेप्लिज डक्टर्स एसोसिएसन यूकेले नेपालका बाढीपीडितलाई ११ लाख रुपैयाँ सहयोग गर्ने

नेपाली लिङ्क अगस्ट २८, २०२६

लन्डन । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि बेलायतस्थित नेपाली चिकित्सकहरूको संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले पीडितहरूको सहयोगका लागि ११ लाख नेपाली रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ।

एनडीए यूकेकी अध्यक्ष डा. आरती थापा तथा महासचिव डा. पारुल श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगरिएको छ। साथै एनडीए यूकेले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा जुटिरहेका परिवार र सम्बन्धित निकायप्रति पनि संस्थाले ऐक्यबद्धता जनाएको छ।

एनडीए यूकेले तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

उक्त रकम बाढी प्रभावितहरूका लागि आश्रय, स्वास्थ्य उपचार, खाद्यान्न तथा उद्धारलगायत अत्यावश्यक कार्यमा सहयोग पुर्‍याउन प्रयोग गरिने संस्थाले जनाएको छ।

बेलायतमा क्रियाशील नेपाली चिकित्सकहरूको संस्थाका रूपमा नेपालमा आएको विपत्तिले आफूहरूलाई गहिरो दुःखी बनाएको उल्लेख गर्दै एनडीए यूकेले विपद्को यस कठिन घडीमा नेपाली जनतासँग पूर्ण ऐक्यबद्धता रहेको जनाएको छ।

तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।

यसैबीच, संस्थाले नेपालमा बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप आर्थिक सहयोग जुटाउन जस्टगिभिङ मार्फत छुट्टै सहयोग संकलन अभियान समेत सुरु गरेको जनाएको छ।

उक्त अभियानबाट संकलित सम्पूर्ण रकम आगामी महिनाहरूमा नेपालको पुनःस्थापना र पुनर्निर्माण कार्यमा खर्च गरिने विज्ञप्तिमा उल्लेख छ।

एनडीए यूकेले नेपालको अवस्थालाई निरन्तर नजिकबाट नियाल्ने पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू