शुक्रबार, २८ अगस्ट, २०२६
07:34 | १२:१९

नेपालको बाढी विपद् : पोखरेली मञ्च यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

नेपाली लिङ्क अगस्ट २८, २०२६

लण्डन- नेपालमा पछिल्लो प्राकृतिक विपद्ले निम्त्याएको भयावह अवस्था र ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पोखरेली मञ्च यूकेले पीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरेको छ।

नेपालमा अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको खबरपछि पोखरेली मञ्च यूकेले तत्काल राहत सहयोग गर्ने निर्णय गरेको हो।

विपद्को गम्भीरतालाई मध्यनजर गर्दै मञ्चको कार्यसमिति तथा ट्रस्टीहरूको बुधबार २६ अगस्टमा आकस्मिक रूपमा बसेको भर्चुअल बैठकले संस्थाको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीबार २७ अगस्ट २०२६ मा बेलायतस्थित मेट्रो बैंकमार्फत £२,४५० अन्तर्राष्ट्रिय बैंक ट्रान्सफर गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सिधै पठाइएको मञ्चले जनाएको छ।

मञ्चले विपद्को यस कठिन घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबारविहीन तथा प्रभावित नागरिकहरूले यथाशीघ्र आवश्यक राहत र सुरक्षित आश्रय पाऊन् भन्ने कामना गरेको छ।

मञ्चले आफ्नो सहयोगलाई ठूलो रकमका रूपमा नभई “विपद्को घडीमा मातृभूमिप्रतिको जिम्मेवारी र पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रतिको ऐक्यबद्धताको सानो प्रयास” का रूपमा लिएको पोखरेली मन्चका महासचिव बिक्रम भट्टराईले बताए ।

मञ्चले बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक तथा परोपकारी संस्था, व्यवसायी, पेशाकर्मी तथा आम नेपाली समुदायलाई समेत आफ्नो क्षमता र सम्भावनाअनुसार विपद् प्रभावित नागरिकहरूको राहतका लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ।

‘यस्तो विपत्तिको समयमा सानो–ठूलो भन्ने हुँदैन। हामी जहाँ रहे पनि मातृभूमिमा परेको पीडामा सकेको सहयोग गर्नु हाम्रो साझा मानवीय दायित्व हो। बेलायतमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा शुभेच्छुकहरूलाई यथासम्भव सहयोगका लागि अगाडि आउन हामी विनम्र अनुरोध गर्दछौं,” मञ्चका अध्यक्ष पवित्रा गुरुङले भने ।

विगतदेखि नै बेलायतमा नेपाली समुदायबीच सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिमा सक्रिय रहँदै आएको पोखरेली मञ्च यूकेले नेपालमा आइपर्ने विपद् तथा मानवीय संकटका बेला मातृभूमिसँगको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको मन्चका पूर्व अध्यक्ष तथा ट्रस्टी करम गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू