क्याम्बर्लीमा १९८३ इन्टेकको वार्षिक भेला


क्याम्बर्ली, (बेलायत) । १९८३ इन्टेकको वार्षिक भेला २२ अगस्ट २०२६ का दिन बेलायतको क्याम्बर्लीस्थित फर्म्ली कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । अध्यक्ष सर्वराज राईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
चारैतिर हरियाली र शान्त वातावरण रहेको स्थानमा आयोजित उक्त कार्यक्रममा बाह्य अतिथि कसैलाई आमन्त्रण गरिएको थिएन् । १९८३ इन्टेकको यस वर्षको वार्षिक भेला आपसी भाइचारा, सद्भाव, आत्मीयता र मनोरञ्जनपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकको भनाइ छ ।
१९८३ इन्टेकका नम्बरी–नम्बरनी तथा परिवारजन सहभागी कार्यक्रम सञ्चालन सुर घलेले गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी आवश्यक जानकारी नेम थापाले प्रस्तुत गरेका थिए । त्यसपछि उपाध्यक्ष क्याप्टेन गंगा मल्लले स्वागत मन्तव्य राख्दै भेलामा उपस्थित सम्पूर्ण नम्बरी–नम्बरनी तथा परिवारजनलाई स्वागत गरे ।
भेलामा विगतमा दिवंगत भएका नम्बरी–नम्बरनीहरूको आत्माको चिरशान्तिको कामना गर्दै बिगुल धुन बजाएर एक मिनेट मौनधारण गरिएको थियो ।
त्यसपश्चात् अध्यक्ष सर्वराज राईले १९८३ इन्टेकको वार्षिक भेलालाई सम्बोधन गर्दै कार्यक्रमको रूपरेखा तथा आगामी कार्ययोजनाबारे जानकारी गराए । उनले भेलामा उपस्थित सबै नम्बरी–नम्बरनी तथा परिवारजनलाई धन्यवाद व्यक्त गर्दै उपस्थित हुन नसकेका नम्बरीहरूलाई आगामी वर्ष आफ्नो समय मिलाएर भेलामा सहभागी हुन आग्रह गरे ।
अध्यक्ष राईले बेलायतको डार्टफोर्डमा भिक्टोरिया क्रस (भिसी) विजेता गजे घलेको पूर्णकदको सालिक निर्माण गर्ने योजनाबारे जानकारी दिँदै त्यसका लागि सहयोग सङ्कलन गरिने विषयमा समेत प्रकाश पारे । उनले कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।
यसै क्रममा कार्यक्रमका सल्लाहकार क्याप्टेन गमर गुरुङ, उपाध्यक्ष गंगा मल्ल र अध्यक्ष सर्वराज राईले संयुक्त रूपमा १९८३ इन्टेकको ब्यानरमा लगाइएको रिबन तानेर कार्यक्रमको औपचारिक उद्घाटन गरे । त्यसपछि नेपालको राष्ट्रिय गान बजाइएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष जित रानाले १९८३ इन्टेकको आर्थिक प्रगति विवरण प्रस्तुत गरे ।
सम्मान तथा सांगीतिक कार्यक्रम

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका कलाकारहरू गायिका उमारी चेपागाङ, गायिका निता थापा मगर तथा नृत्यांगना सरिस्मा रमजई मगरलाई अध्यक्ष सर्वराज राईले खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
त्यसपछि सुरु भएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा नृत्यांगना सरिस्मा रमजई मगरको प्रस्तुतिमा सहभागी नम्बरी–नम्बरनी तथा परिवारजनले उत्साहपूर्वक नृत्य गर्दै भरपूर मनोरञ्जन गरेका थिए। त्यसैगरी गायिका निता थापा मगरको सांगीतिक प्रस्तुतिमा सहभागीहरू पालैपालो नाच्दै रमाए । कलाकारहरूको प्रस्तुतिले कार्यक्रमको वातावरणलाई थप उल्लासमय बनाएको थियो ।
मनोरञ्जन कार्यक्रम केही समय विश्राम दिँदै आकर्षक राफल ड्र तथा चिट्ठा कार्यक्रम सञ्चालन गरिएको थियो। विभिन्न पुरस्कारको रुपमा नम्बरीहरु द्वारा प्रायोजन गरिएका पुरस्कारहरूबाट राफल ड्र सञ्चालन गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय पुरस्कारका रूपमा नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
त्यसपछि भोजन संयोजक तक गुरुङको निर्देशनअनुसार बेलुकाको खाना खुलाइएको थियो। सहभागीहरूले सामूहिक रूपमा भोजन गरेपछि पुनः सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। गीत, संगीत र नृत्यसँगै सहभागीहरूले उत्साहपूर्वक मनोरञ्जन गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष सर्वराज राईले भेलालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नम्बरी–नम्बरनी, परिवारजन तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरे ।
उनले आगामी वर्षको वार्षिक भेला १४ अगष्ट २०२७ मा आयोजना हुने जानकारी गराउँदै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


