आइतबार, २३ अगस्ट, २०२६
22:56 | ०३:४१

बेलायतमा प्रदर्शन हुंदै पेन्सन पट्टा, यूके प्रिमियर सेप्टेम्बर १२ मा प्रिन्सेस हलमा

नेपाली लिङ्क अगस्ट २३, २०२६


लन्डन- बेलायतका विभिन्न शहरमा फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शन गरिने भएको छ ।

निर्माण पक्षले तमुधिं यूके भवन मिचेटमा आइतबार एक पत्रकार सम्मेलनमा यूके प्रदर्शनबारे जानकारी दिएको हो।

११ सेप्टेम्बरमा नेपालभर प्रदर्शन हुन लागेको पेन्सन पट्टा बेलायतमा १२ सेप्टेम्बर प्रिन्सेस हलमा प्रिमियर हुने पेन्सन पट्टाका निर्माता तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले जनाए ।

आफ्नो पेशा चलचित्र निर्माण नभएपनि समाजमा राम्रो काम गर्ने व्यक्तिलाई सहयोग गर्न लगानी गरेको उनले प्रष्टयाए । गुरुङले फिल्म प्रदर्शनमा सहभागी हुन बेलायतवासी दर्शकहरुमा आग्रह समेत गरे ।

पेन्सन पट्टा कागजमात्र होइन्, जीवन चलाउने आधार पनि हो भन्ने सन्देश फिल्मको छ । माओत्से गुरुङको निर्देशनमा बनेको दोश्रो चलचित्र पेन्सन पट्टामा प्रेम, त्याग र आत्मसम्मानको कथा समावेश छ ।

पारिवारिक चलचित्र भएकाले फिल्म हेरिन्जेल बोरिङ नहुने निर्माता गुरुङले बताए।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ, मनिका गुरुङलगायतको अभिनय छ। फिल्म शोका दिन बेलायतमा कलाकारहरु गौमाया गुरुङ र पशुपति राईको विशेष उपस्थिति रहने छ।

पत्रकार सम्मेलनमा तुमधिं यूके अध्यक्ष जुमकाजी गुरुङले चलचित्रलाई सफलताको शुभकामना दिए । नेपाली चलचित्र र कलाकारहरुको प्रोत्साहन गर्नु सबैको कर्तव्य रहेको भन्दै पेन्सन पट्टा हेरेर सहयोग गरिदिन उनले आग्रह गरे ।


बेलायतमा हुने चलचित्र प्रदर्शनीमा सीट सिमित रहेकाले यथासक्य चाँडो टिकट बुकिङ गर्न आव्हान गरिएको छ। साधारण टिकट शुल्क २० पाउण्ड छ भने विशेष आतिथ्य सत्कारसहितको भिआइपी टिकटको शुल्क ५० पाउण्ड छ ।

सेप्टेम्बर १९ मा साउथ इष्ट लन्डनको प्लमस्टिड र २७ सेप्टेम्बरमा ननिटनमा फिल्म प्रदर्शन हुने तय भइसकेको छ । स्वीन्डन, फोक्सटनलगायतका अन्य कयौं शहरमा पनि चलचित्र देखाउने तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू