लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्ध प्रतिमा

लन्डन—लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास परिसरमा भगवान् शाक्यमुनि बुद्धको प्रतिमा स्थापना गरिने भएको हो।
नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत आगामी २९ अगस्ट २०२६, शनिबार बिहान ११ बजे नेपाली दूतावास, १२ए केन्सिङ्टन प्यालेस गार्डेन्स, लन्डनमा विशेष समारोह आयोजना गरिनेछ।
समारोहमा ३ फिट अग्लो, सुनौलो रङको आसनस्थ बुद्ध प्रतिमा नेपाली दूतावास परिसरमा स्थापना गरिने एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका कोर्डिनेटर सोमनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतिमाले नेपाल, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी तथा शान्ति, करुणा, सद्भाव र अहिंसाको विश्वव्यापी सन्देशलाई प्रतिनिधित्व गर्नेछ।
समारोहमा सहभागी हुन बेलायतस्थित एनआरएनएका अभियन्ता, सदस्य, बौद्ध गुरु तथा समुदायका प्रतिनिधि एवं सम्बन्धित सबै संघसंस्थाका प्रतिनिधिलाई नेपाली राजदूतावासले आमन्त्रण गरेको छ।
‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’का प्रोजेक्ट कोर्डिनेटर सापकोटाका अनुसार यस वर्ष विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा कुल ११ वटा बुद्ध प्रतिमा स्थापना गर्ने योजना छ। यसका लागि विभिन्न स्थानको छनोट तथा आवश्यक समन्वयको प्रक्रिया अघि बढिरहेको छ। यस वर्षको योजनापछि पनि उपयुक्त अन्य नेपाली कूटनीतिक नियोग तथा स्थानहरूमा यस्ता प्रतिमा स्थापना गर्ने अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए।
एनआरएनएले आफ्नो स्थापना कालदेखि नै विभिन्न माध्यम र अभियानमार्फत नेपाल, नेपाली संस्कृति, पर्यटन, कला, भाषा तथा मौलिक सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको छ। ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ पनि यही निरन्तर प्रयासको एउटा महत्वपूर्ण कडीका रूपमा अघि बढाइएको सापकोटाले बताए।
विश्वभर फैलिएको नेपाली डायस्पोराको सञ्जाललाई नेपालको सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले यस्ता अभियानहरू सञ्चालन गरिँदै आएको उनको भनाइ छ।
लन्डनलाई प्रतिमा स्थापनाका लागि छनोट गर्नु पछाडि नेपाल र बेलायतबीच लामो ऐतिहासिक कूटनीतिक सम्बन्ध विशेष कारण छ।
नेपाल र बेलायतबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १८१६ मा सुरु भएको थियो । त्यसैले बेलायत नेपालको सबैभन्दा पुराना कूटनीतिक साझेदारमध्ये एक हो।
अभियानअन्तर्गत पोर्चुगलको लिस्बनस्थित नयाँ नेपाली दूतावासमा समेत बुद्ध प्रतिमा स्थापना गर्ने योजना छ। यसले नेपाली कूटनीतिक नियोगमार्फत नेपाल, लुम्बिनी र भगवान् बुद्धको शान्ति तथा करुणाको सन्देशलाई थप अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यसैगरी, अस्ट्रेलियाको भिक्टोरियामा रहेको The Great Stupa of Universal Compassion मा STATUE OF BODHISATTVA SIDDHARTHA (Baby Buddha Statue) स्थापना गर्ने योजना पनि अघि बढिरहेको छ।
करिब ६.२ फिट अग्लो र १६० केजी तौलको उक्त प्रतिमा एनआरएनए एनसीसी अस्ट्रेलियाको सहयोगमा तथा अस्ट्रेलिया सरकारसँगको समन्वयमा स्थापना गर्ने तयारी भइरहेको छ।
उक्त प्रतिमा The Great Stupa of Universal Compassion, 25 Sandhurst Town Road, Myers Flat, VIC 3556, Australia मा स्थापना गर्ने योजना छ।
यस पहलले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन तथा नेपालको बौद्ध सम्पदा र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रवक्ता सापकोटाका अनुसार यो अभियान केवल बुद्ध प्रतिमा स्थापना गर्ने सांस्कृतिक कार्यक्रम मात्र नभई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र नेपालको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने महत्वपूर्ण अभियान हो। यसले भगवान् बुद्धको जन्मभूमि नेपाल र लुम्बिनीलाई शान्ति, आध्यात्मिकता, संस्कृति तथा पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा थप परिचित गराउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
उनले नेपाली डायस्पोराले विश्वभर नेपालको सांस्कृतिक तथा आध्यात्मिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै जहाँ बसे पनि नेपालीहरूले नेपालको ‘सांस्कृतिक राजदूत’ का रूपमा काम गर्नुपर्नेमा जोड दिए।
यस अभियान सफल बनाउन नेपाल पर्यटन बोर्ड, बुद्ध सर्किटका नगरपालिका, नेपाल सरकारको परराष्ट्र मन्त्रालय, एनआरएनए एनसीसी युके, बुद्ध फाउन्डेसन युके, एनआरएनए एनसीसी अस्ट्रेलिया तथा विभिन्न सरोकारवाला संस्था र व्यक्तिहरूको सहयोग, सहकार्य र समन्वय छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



