मिडल्यान्ड्स नेपाली क्रिकेट लिगको फाइनल २३ अगस्टमा


लण्डन । मिडल्यान्ड्स नेपाली क्रिकेट लिग सातौँ संस्करणको फाइनल खेल आगामी आइतबार, २३ अगस्ट २०२६ मा मेल्टन मोब्रेस्थित थोरप आर्नोल्ड क्रिकेट क्लबमा हुने भएको छ।
छ टोली सहभागी यस प्रतियोगिताको उपाधिका लागि नटिङहम गोर्खाज क्रिकेट क्लब र गोर्खा टाइगर्स स्पोर्ट्स क्लब लेस्टर आमनेसामने हुनेछन्।
मिडल्यान्ड्स क्षेत्रको नेपाली समुदायमाझ प्रतिष्ठित तथा ठूलो क्रिकेट प्रतियोगिताका रूपमा स्थापित लिगको फाइनल खेल दिउँसो १ बजे सुरु हुने तालिका छ।
यस संस्करणमा नटिङहम गोर्खाज, गोर्खा टाइगर्स स्पोर्ट्स क्लब लेस्टर, बर्मिङ्घम राइनोज, वोल्भरह्याम्पटन वारियर्ज, नेप्लिज वारियर क्रिकेट क्लब र गोर्खा क्रिकेट क्लब डीडब्ल्यूसी गरी छ टोलीले सहभागिता जनाएका थिए।
लिगका संस्थापक संयोजक तथा वर्तमान संयोजक दीपक सापकोटाका अनुसार विगतका संस्करणहरूमा जस्तै यस वर्ष पनि मिडल्यान्ड्सकै सबैभन्दा ठूलो नेपाली संस्था साझा नेपाली समाज बेलायतले प्रतियोगिताको प्रमुख प्रायोजकको भूमिका निर्वाह गरेको छ।
संस्थाको निरन्तर सहयोगले लिगलाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण योगदान पुगेको उनले बताए।
पहिलो क्वालिफायरमा नटिङहम गोर्खाजले गोर्खा टाइगर्स लेस्टरलाई ६० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। पहिले ब्याटिङ गरेको नटिङहमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०६ रन बनाएको थियो।

पहिलो क्वालिफायरमा पराजित लेस्टरले दोस्रो क्वालिफायरमा वोल्भरह्याम्पटन वारियर्जको सामना गरेको थियो। प्रतिस्पर्धात्मक खेलमा वोल्भरह्याम्पटनलाई नौ रनले हराउँदै गोर्खा टाइगर्स लेस्टरले फाइनलमा नटिङहमसँगको भेट पक्का गरेको हो।
आयोजकका अनुसार फाइनल खेललाई खेलकुदसँगै मनोरञ्जनात्मक उत्सवका रूपमा आयोजना गरिनेछ। कार्यक्रममा कलाकार सरिश्मा मगरको विशेष सांगीतिक प्रस्तुतिसमेत रहने बताइएको छ।
आयोजकले मिडल्यान्ड्ससहित बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदाय, क्रिकेटप्रेमी तथा परिवारजनलाई उपस्थित भएर खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


