शुक्रबार, २ अक्टोबर, २०२६
02:16 | ०७:०१

वेष्ट मिडल्यान्डको ‘टेष्ट अफ हिमालयन’ लाई तेस्रोपटक ‘इंग्लिस करी अवार्ड’

नेपाली लिङ्क अगस्ट १७, २०२६

वेष्ट मिडल्यान्ड- वेष्ट मिडल्यान्डको स्यान्डवेल, राउली रेजिसस्थित नेपाली रेष्टुरेन्ट ‘टेष्ट अफ हिमालयन’ले लगातार तेस्रो वर्ष प्रतिष्ठित ‘इंग्लिस करी अवार्ड’ प्राप्त गरेको छ। यस वर्ष रेष्टुरेन्टले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट–नेप्लिज् रेस्टुरेन्ट अफ द इयर’ अवार्ड जितेको हो।

अघिल्लो सोमबार वुल्भरह्याम्प्टनस्थित ‘द ग्रान्ड स्टेसन होटल’मा आयोजित विशेष समारोहमा रेष्टुरेन्ट सञ्चालक तेज भण्डारीसहितको टीमले अवार्ड ग्रहण गरेको छ।

यसअघि ‘टेष्ट अफ हिमालयन’ सन् २०२४ मा ‘बेस्ट अफ बर्मिङहम–नेप्लिज् रेस्टुरेन्ट अफ द इयर’को उपविजेता र सन् २०२५ मा सोही विधाको विजेताका रुपमा सम्मानित भएको थियो। लगातार तेस्रो वर्ष प्राप्त अवार्डलाई रेस्टुरेन्टले ठूलो गौरव र प्रोत्साहनका रुपमा लिएको सञ्चालक भण्डारीले बताए।

बाग्लुङ गल्कोट स्थायी घर भएका रेष्टुरेन्ट सञ्चालक तेज भण्डारीले कोभिडका बेला सन् २०२० मा घरबाटै फ्रोजन मःमः उत्पादन सुरु गरेका थिए। सन् २०२३ मा उनले ‘टेष्ट अफ हिमालयन’ का नाममा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएका हुन्।

रेष्टुरेन्टमा मःमः, चाउमिन, करी, सेकुवा लगायतका मौलिक नेपाली तथा इन्डियन खानाका परिकार उपलब्ध छन्। रेष्टुरेन्टका साथमा बेलायतभरका लागि फ्रोजन मःमः उत्पादन र आपूर्ति पनि गरिंदै आएको छ।

हाल रेष्टुरेन्ट र मःमः उत्पादनमा गरी जम्मा १४ जना कार्यरत छन्।

सञ्चालक भण्डारीले रेष्टुरेन्टको सफलता आफ्नो परिवार, कर्मचारी र ग्राहकको निरन्तर साथ तथा विश्वासको परिणाम भएको भन्दै सबैप्रति आभार प्रकट गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू