पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ यूकेको कडा आपत्ति

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिक का प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले उनकै ललितपुरस्थित निवासबाट पक्राउ गरेको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल र बिनासर्त रिहाइ माग गरेको छ।
महासचिव खेमराज रानाभाटद्वारा जारी प्रेस विज्ञप्तिमा श्रेष्ठलाई गत बुधबार, १२ अगस्ट राति करिब ९ बजे ललितपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
समाचार प्रकाशन, सम्पादकीय सामग्री तथा अभिव्यक्तिसँग सम्बन्धित विषयलाई लिएर पत्रकारलाई धरपकड तथा गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको महासंघको ठहर छ।
महासंघले प्रकाशित सामग्रीप्रति कसैको असहमति, गुनासो वा उजुरी भए त्यसको समाधानका लागि राज्यले स्थापित कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्ने स्पष्ट पारेको छ।
यस्ता विषयमा प्रचलित कानुन, स्थापित विधि तथा क्षेत्राधिकार प्राप्त निकाय प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अघि बढाइनुपर्ने महासंघको भनाइ छ।
समाचार वा सम्पादकीय सामग्रीप्रति असहमति भएकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, त्रसित बनाउने वा दबाबमा पार्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारिताको वातावरणलाई प्रत्यक्ष प्रभावित गर्ने भन्दै महासंघले यस्तो कार्य कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने जनाएको छ।
पत्रकारलाई पक्राउ गरेर त्रास सिर्जना गर्नु र स्वतन्त्र पत्रकारितामाथि दबाब बढाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख छ।
यस्तो प्रवृत्तिले पत्रकारलाई पेसागत जिम्मेवारी निर्वाह गर्न हतोत्साहित गर्ने मात्र नभई नागरिकले निर्बाध रूपमा सूचना प्राप्त गर्ने अधिकारलाई समेत कमजोर पार्ने महासंघको निष्कर्ष छ।
नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै पत्रकारहरूले निर्भीक र स्वतन्त्र रूपमा आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको महासंघले स्मरण गराएको छ।
प्रेसमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपले लोकतान्त्रिक मूल्य, नागरिकको सूचनाको अधिकार र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने भन्दै महासंघले पत्रकारितामाथिको दबाब तथा हस्तक्षेपप्रति गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल पत्रकार महासंघ यूकेले वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको धरपकड तथा गिरफ्तारीको कडा निन्दा र विरोध गर्दै उहाँलाई तत्काल र बिनासर्त रिहा गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ।
साथै पत्रकारमाथि अनावश्यक धरपकड, त्रास र दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै पत्रकारहरूले निर्भीक रूपमा आफ्नो पेसागत दायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


