शुक्रबार, ४ सेप्टेम्बर, २०२६
17:37 | २२:२२

बेलायतका नेपाली बालबालिकालाई बीसीसी यूकेको तीनदिने समर क्याम्प

नेपाली लिङ्क अगस्ट १४, २०२६

लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको आयोजनामा सञ्चालित तीनदिने पाँचौँ ‘चिल्ड्रेन समर क्याम्प’ सम्पन्न भएको छ । गत बुधबार १२ अगस्टदेखि सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो ।

बेलायतमा रहेका नेपाली बालबालिकालाई बौद्ध धर्म, ध्यान (मेडिटेसन), योग, दैनिक पूजापाठलगायत विषयमा जानकारी गराउने उद्देश्यले क्याम्प आयोजना गरिएको थियो ।

विभिन्न उमेर समूहका २२ जना बालबालिकाको सहभागिता रहेको क्याम्पमा धार्मिक तथा शैक्षिक गतिविधिसँगै विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसपटक बालबालिकालाई गुम्बाबाहिर स्थानीय विद्यालयमा लगेर सुटिङ खेलमा समेत सहभागी गराइएको थियो । उक्त सुटिङ खेललाई बीसीसी यूके उपाध्यक्ष क्याप्टेन देव घले, आमा उपाध्यक्ष तुलसी घले र क्याप्टेन बुद्ध गुरुङले बिशेष व्यवस्थापन गरेका थिए ।

त्यसैगरी, गुम्बा परिसरभित्र विभिन्न खेल तथा क्विज प्रतियोगिता सञ्चालन गरिएको थियो । सुटिङ, खेलकुद तथा क्विज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिका तथा समूहलाई पुरस्कार प्रदान गरियो ।

सहभागी बालबालिकालाई अल्डरसट फुटबल क्लबको समेत अवलोकन गराइएको थियो ।

कर्यक्रम संयोजक मेजर खुशीमान गुरुङले विभिन्न खेल तथा क्विज प्रतियोगिता सञ्चालन गर्नुका साथै बालबालिकाका लागि विभिन्न भिडियो सामाग्री प्रस्तुत गरेका थिए ।

आचार्य पासाङले पूजापाठ तथा बौद्ध धर्मसम्बन्धी जानकारी दिनुका साथै ध्यान अभ्याससमेत गराएका थिए । त्यस्तै, मरिट आमोसले योगा सिकाएका थिए ।

सो क्याम्प सञ्चालनका लागि सहभागी बालबालिकाका अभिभावकहरूले आर्थिक तथा जिन्सी सामाग्री सहयोग गरेका थिए । बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले विगतका वर्षझैँ यस वर्ष पनि बालबालिकाका लागि आइसक्रिम प्रायोजन गरेका थिए ।

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न क्याम्पमा बीसीसी यूके अध्यक्ष आङ दावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, आमा प्रमुख शारदा गुरुङ, उपाध्यक्ष दुर्गालक्ष्मी गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा समूहका सदस्यहरुलगायत स्वयंसेवकहरूले कार्यक्रमलाई विशेष सहयोग गरेका थिए ।

उक्त क्याम्प समापन समारोहमा सहभागी बालबालिकालाई गुम्बाका श्रद्धेय धर्मगुरु खेन्पो केल्जेङले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरे । आचार्य पासाङले बालबालिकालाई खादा लगाई बधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा क्याम्पका संयोजक तथा बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले क्याम्पमा सहभागी सबै बालबालिका, अभिभावक तथा गुम्बा स्टाफलाई धन्यवाद दिए ।

बीसीसी यूकेले विगत केही वर्षदेखि नेपाली बालबालिकालाई लक्षित गर्दै नियमित रूपमा समर क्याम्प आयोजना गर्दै आएको छ ।

यस प्रकारका कार्यक्रमले बेलायतमा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो धर्म, संस्कार, संस्कृति र समुदायसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ ।

-पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू