लन्डनमा प्रतिभा नक्षत्रको सातौं संस्करणमा कुमारी जात्रा र पूजा विशेष आकर्षण


फाइल तस्विर
लन्डन–१६ अगष्ट आइतबार लन्डनमा हुन लागेको प्रतिभा नक्षत्रको सातौं संस्करण विशेष बनाउन आयोजक तीव्र रुपमा जुटेका छन् ।
औपचारिक कार्यक्रम बिहान १० बजे शुरु हुनेछ । कुमारीको हातबाट दीप प्रज्वलन र बेलायतमै जन्मिएका बालबालिकाद्वारा मौलिक नेपाली बाजा बजाएर नेपाली र ब्रिटिश राष्ट्रिय गानसहित कार्यक्रम शुरु गर्ने तालिका रहेको प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले जनाए ।
प्रतिक्षा नक्षत्र गाउंमा यसपटक नेवारी घर पनि हुने र नेवारी घरमा कुमारीलाई राखेर कुमारीको समेत पूजा गर्ने तयारी भइरहेको खसले बताए ।
पासा पुचः गुथि यूकेको सक्रियतामा प्रतिक्षा नक्षत्र गाउंमा बिहान ९ देखि ९.४५ बजेसम्म जिवित देवी कुमारीको पूजाआजा गरिने र ९.४५ बजेपछि नेपाली मौलिक नौमति, धिमे बाजासहित प्रतिभा नक्षत्र गाउंमा कुमारी जात्रा गर्ने आयोजकको तयारी छ ।
कुमारी जात्रामा प्रमुख अतिथी, अतिथीहरु सहभागी भएर स्टेजतर्फ अगाडि बढ्नेछन् भने कुमारीको हातबाट दीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरिनेछ ।
साथै, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापतिले कुमारीबारे संक्षिप्त व्याख्या गर्ने कार्यक्रम रहेको खसले बताए ।
बेलायतमा वर्षेनी आयोजना हुंदै आएको सातौं प्रतिक्षा नक्षत्र आउँदो आइतबार साउथ इष्ट लन्डनको प्लमस्टेड कमनस्थित ग्रीनवीच रग्वी क्लबको ग्राउन्डमा तय गरिएको छ।
बिहान १० देखि बेलुका ७ बजेसम्म निर्धारित कार्यक्रममा बाल र युवा गरी दुई विधामा बालबालिका र किशोरकिशोरीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन्।
प्रवेश निशुल्क गरिएको उक्त कार्यक्रमस्थलमा मौलिक नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा झल्काउने नमुना घर, स्टलसहित नौमती बाजा, धिमेबाजा, गीत, संगीतसहित विविध सांस्कृतिक प्रस्तुति र नेपाली हस्तकला, गरगहना र खानाका स्टलहरुसमेत रहनेछन्।
कार्यक्रमकी कोरियोग्राफर रेनुका मगरले यसपटकको कार्यक्रममा बाल र युवा विधामा जम्मा २५ जना बालबालिका र किशोरकिशोरीको सहभागिता रहने जानकारी दिइन् ।
बेलायतका साथै आयरल्यान्ड, जर्मनी, बेल्जियमसहितका युरोपेली मुलुकबाट समेत सहभागी आउँदैछन् । उनीहरुले नेपाली बाजा बजाउनेदेखि गीत, नृत्य, वक्तृत्वकलालगायत विविध प्रतिभा प्रस्तुत गर्नेछन्।
प्रतिभा नक्षत्रका संस्थापक निर्देशकमध्ये एक लछुमन गुरुङका अनुसार यसपटकको कार्यक्रममा नेपाल, आयरल्यान्ड, बेल्जियम र बेलायतबाट गरी जम्मा पाँच जना निर्णायक आउँदैछन्। नेपाली भाषा, कला, साहित्य, संगीतजस्ता विभिन्न क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्वहरुलाई निर्णायकमा चयन गरिएको उनले बताए ।
प्रतिभा नक्षत्र प्रतिभा प्रस्तुतिका लागि मात्र नभइ विदेशमै जन्मिएका र यतै हुर्किरहेको नेपाली नयाँ पुस्तामा नेपालप्रतिको प्रेम र लगावलाई प्रोत्साहन गर्ने मञ्च रहेको उनले जनाए।
प्रतिभा नक्षेत्रकी कार्यवाहक अध्यक्ष विजया दाहाल भण्डारी र संस्थापक अध्यक्ष सिम्मी पुनले बेलायतवासी सबै नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर नेपाली कला, संस्कृतिको प्रवर्द्धनका लागि प्रयासरत बालबालिका र युवाहरुका साथै आयोजकलाई पनि हौसला प्रदान गर्न आग्रह गरेका छन्।
प्रतिभा नक्षत्रकी महासचिव आस्था जोशी कार्यक्रमले दर्शकलाई मिनी नेपालकै अनुभूति गराउने बताउँछिन्। नमुना नेवारी घर, थारु घर र खस घरलगायतको प्रदर्शनी, हस्तकला, नेपाली गरगहना तथा खानाका स्टलदेखि मौलिक नेपाली बाजा र कला, संस्कृति झल्काउने प्रस्तुतिसम्मले सहभागहिरुलाई नेपालमै पुगेको अनुभव गराउने उनको विश्वास छ।
डायस्पोराका नेपाली बालबालिका तथा किशोरकिशोरीलाई प्रतिभा प्रस्तुतिको मञ्च प्रदान गर्दै उनीहरुलाई नेपालसंग जोड्ने अभियानका रुपमा सन् २०१७ मा प्रतिभा नक्षत्र शुरु भएको थियो ।
राजेन्द्र खसको परिकल्पना र अवधारणामा शुरु भएको अभियानले डायस्पोरामा नेपाली कला, संस्कृति, भाषा, साहित्य, परम्परासहित समग्र नेपालीपन प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरणको लक्ष्य लिएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


