बुधबार, १२ अगस्ट, २०२६
09:03 | १३:४८

एनआरएनए स्कटल्यान्डद्वारा ग्लास्गोमा रोमान्चक खेलकुद महोत्सव

नेपाली लिङ्क अगस्ट १२, २०२६

ग्लास्गो- गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्डको आयोजनामा ग्लास्गोस्थित राल्स्टन सामुदायिक खेलकुद केन्द्रमा विविध खेलकुद गतिविधिसहित ‘स्पोर्ट्स डे’ सफलतापूर्वक सम्पन्न भएको छ।

स्कटल्यान्डमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा, स्वास्थ्य तथा खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बालबालिका, युवा तथा वयस्कहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा विभिन्न उमेर समूहलाई लक्षित गर्दै फुटबलदेखि दौडसम्मका मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गरिएको थियो।

खेलकुद दिवसअन्तर्गत वयस्क फुटबल, १२ वर्ष मुनिको फुटबल, रिले दौड, तातो आलु, महिलातर्फ २०० मिटर दौड, पुरुषतर्फ २०० मिटर दौड, भलिबल, बच्चाहरूको दौडलगायतका विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो।

सहभागी खेलाडी तथा बालबालिकाहरूले उत्साहपूर्वक प्रतियोगितामा भाग लिएका थिए भने उपस्थित अभिभावक तथा दर्शकहरूले खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए।

कार्यक्रमले नेपाली समुदायभित्र खेलकुदप्रतिको रुचि बढाउनुका साथै नयाँ पुस्ताका बालबालिकालाई नेपाली समुदायसँग जोड्ने महत्वपूर्ण अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।

खेलकुदमार्फत स्वस्थ जीवनशैली, अनुशासन, सहकार्य र सामुदायिक भावना विकास गर्ने सन्देश कार्यक्रमले दिएको थियो। विभिन्न खेलकुद प्रतियोगितामा उत्साहजनक सहभागिता थियो ।

समुदायलाई जोड्ने महत्वपूर्ण पहल

एनआरएनए स्कटल्यान्डले आयोजना गरेको यस खेलकुद दिवसले स्कटल्यान्डमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै स्थानमा भेला गराई आपसी सद्भाव, मित्रता र सामुदायिक एकतालाई अझ बलियो बनाउने काम गरेको आयोजकको दाबी छ।

बालबालिकादेखि वयस्कसम्मको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त र उत्साहपूर्ण बनाएको थियो। खेलकुदसँगै नेपाली समुदायको दुःख–सुखमा एकजुट हुने भावना र आफ्ना राष्ट्रिय व्यक्तित्वप्रति सम्मान व्यक्त गर्ने संस्कारलाई समेत कार्यक्रमले उजागर गरेको आयोजकले जनाएका छन्।

एनआरएनए स्कटल्यान्डको यो पहलले ‘स्वस्थ समुदाय, एकताबद्ध समुदाय’ भन्ने भावनालाई आत्मसात् गर्दै नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीको प्रतिक्रिया छ।

एनआरएनए स्कटल्यान्डले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, खेलाडी, अभिभावक, सहभागी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

स्वर्गीय निर्मल पुर्जाको सम्झनामा श्रद्धाञ्जली

कार्यक्रमको एक भावुक क्षणका रूपमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरिएको थियो।

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा गत जुलाई ३० मा गएको विनाशकारी हिमपहिरोमा परी निर्मल पुर्जासहित १० जना आरोहीको दुःखद निधन भएको थियो।

पुर्जा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छोटो समयमै आरोहण गरेर विश्वभर चर्चित बनेका थिए।

उनको साहस, दृढता, समर्पण र विश्वभर नेपालको नाम उँचो बनाउने योगदानको स्मरण गर्दै एनआरएनए स्कटल्यान्डको खेलकुद दिवसमा सहभागी तथा उपस्थित समुदायका सदस्यहरूले श्रद्धाञ्जली अर्पण गर्दै मैनबत्ती प्रज्वलन गरेका थिए।

केही क्षण मौनधारणसमेत गर्दै स्वर्गीय पुर्जाप्रति सम्मान व्यक्त गरिएको थियो।

निर्मल पुर्जाको असामयिक निधनले नेपाली समुदाय मात्र नभई विश्व पर्वतारोहण क्षेत्रमै ठूलो क्षति पुगेको भन्दै कार्यक्रममा सहभागीहरूले दुःख व्यक्त गरे ।

पुर्जाको साहस, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने प्रेरणा नयाँ पुस्ताका लागि सदैव जीवित रहने धारणा व्यक्त गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू