सोमबार, १४ सेप्टेम्बर, २०२६
15:11 | १९:५६

कार्डिफमा श्रावणभरि शिवभजनको लहर, संस्कृति र आस्थाको सञ्चार

नेपाली लिङ्क अगस्ट ११, २०२६


कार्डिफ । देवादिदेव महादेवको विशेष महिना श्रावणमा युकेको वेल्स राजधानी कार्डिफमा महिनाभरि सामूहिक शिवभजन कीर्तन भएको छ।

धर्म-सांस्कृतिक अभियान युकेले यस वर्ष पनि परम्पराअनुरुप श्रावणभरि भजनकीर्तन कार्यक्रम सञ्चालन गरेको हो।

कार्डिफमा नेपाली बसोबास बढेसँगै स्थापित यस संस्थाले धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत यहाँको नेपाली समुदायलाई जोड्ने काम गरिरहेको छ। अघि धार्मिक गतिविधिमा सुसुप्त रहेको समाज अहिले दशैं, तिहार, देउसीभैलो, पितृ–मातृ औँसी, तुलसीरोपण, माघे संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा जस्ता चाडपर्वलाई भव्य रूपमा मनाउन थालेको छ।

यसै क्रममा यस वर्ष श्रावणका हरेक सोमबार कार्डिफका विभिन्न घरमा भजन कार्यक्रम आयोजना गरिएको थियो। श्रीमती लक्ष्मी खनाल, पण्डित डा. थानेश्वर पाण्डेय, प्रदीप सुवेदी, श्रीमती गीता खरेलकाफ्लेलगायतको घरमा आयोजित भजनमा वयस्कसँगै बालबालिकाको पनि उल्लेखनीय सहभागिता रह्यो — जो नेपाली भजनमा स्वतःस्फूर्त रूपमा गाउन र नाच्न देखिए।


संस्थाका अध्यक्ष डा. थानेश्वर पाण्डेयले यस्ता कार्यक्रमले सनातन आस्था जगाउन, हाम्रो सांस्कृतिक धरोहर नयाँ पुस्तामा हस्तान्तरण गर्न, बालबालिकामा नेपाली संस्कृतिप्रति रुचि जगाउन र समुदायभित्र आत्मीयता र चिनजान गाढा पार्न मद्दत पुर्‍याउने बताए।

महिनाभरिको कार्यक्रम संयोजन भजन उपसमिति संयोजक प्रेम भण्डारीले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू