सोमबार, १० अगस्ट, २०२६
11:56 | १६:४१

बेलायतमा मौलिक नेवारी स्वाद र शैलीमा ‘नेवा भ्वय्’ गरिंदै

नेपाली लिङ्क अगस्ट १०, २०२६

लन्डन- नेवा समुदायको मौलिक संस्कृति, परम्परा र खानाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतमा मौलिक नेवारी भोज ‘नेवा भ्वय्’ आयोजना हुने भएको छ।

यही २३ अगस्ट आइतबार बर्कशायरको ब्र्याकनेलस्थित गार्थ हिल कलेजमा परम्परागत ‘लप्ते भ्वय्’ सहित विभिन्न मौलिक नेवारी परिकारहरुसहित ‘नेवा भ्वय्’ आयोजना गरिने भएको हो।

पासा पुच: गुथि यूकेको रेडिङ्ग शाखाको आयोजनामा संचालन हुने भोजमा बेलायतभरबाट नेवार तथा सिंगो नेपाली समुदायबाट सहभागिता अपेक्षा गरिएको छ।

त्यस अवसरमा सर्भ गरिने सबै परिकार गुथिका सदस्यहरू आफैले तयार गर्नेछन्। त्यस्तै, बेलायतमै तयार गरिने नेवारी समुदायमा प्रचलित ऐइला, थों जस्ता परम्परागत पेय पदार्थ समेत भोजमा समावेश रहनेछन्।

भोजमा सहभागीहरुले नेपालमै जस्तै पलेंटी कसेर सुकुलमा बसेर लप्टे (टपरी) मा स्वादिष्ट नेवारी परिकारहरुको आनन्द लिन पाउनेछन्।

भोजमा पस्किने परिकारहरुको मौलिक स्वाददेखि सर्भ गर्ने शैलीसम्मले सहभागीहरुलाई नेपालकै नेवारी भोजको अनुभूति गराउने आयोजकको आशा छ।

‘नेवा भ्वय्’ नेवार समुदायका लागि मात्र नभई सबै समुदायका लागि खुला गरिएको छ। नेवारी संस्कृति र खानाप्रति रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आव्हान गरिएको छ।

बेलायतमा ‘नेवा भ्वय्’ हरेक दुईदेखि तीन वर्षमा मात्र आयोजना हुने भएकाले यसलाई विशेष तथा दुर्लभ अवसरका रूपमा सदुपयोग गर्न आयोजकले आग्रह गरेका छन्।

यसअघि आयोजना गरिएको भोजमा छोटो समयमै सबै टिकट बिक्री भएको र यसपटक पनि स्थान सीमित रहेकाले समयमै टिकट लिन आयोजकले सुझाव दिएका छन्।

कार्यक्रमस्थल रेडिङ स्टेसनबाट करिब १४ मिनेटको दूरीमा छ। साथै, कार्यक्रमस्थलमा पर्याप्त निःशुल्क सवारी पार्किङ र बस सेवाको सुविधा समेत रहेको जनाइएको छ।

पासा पुच: गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले नेवा समुदायको खानपान, संस्कृति र परम्परालाई बेलायतमा जीवित राखिराख्ने र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने तथा अन्य नेपाली समुदायलाई समेत परिचित गराउने कार्यक्रमको लक्ष्य रहेको बताए।

‘नेवा भ्वय’ का लागि टिकट तथा थप जानकारीका लागि यो लिंकमा क्लिक गरी पासा पुच: यूकेको वेबसाइटमार्फत लिन सकिनेछ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू