इरानविरुद्ध अमेरिकी सैन्य आक्रमण तीव्र


तेहरान, असार २८ गते । अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ । कमान्डका अनुसार यस चरणमा करिब १४० वटा लक्ष्यमा आक्रमण गरिएको छ ।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत सेन्ट्रल कमान्डले जनाएअनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण स्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो । यसअघि जारी अर्को विज्ञप्तिमा कमान्डले व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारी पत्र पालना गर्ने अवसर दिइएको भए पनि त्यसमा असफल भएको दाबी गरेको थियो ।
यसैबिच, युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्सले शनिबार अबेर ओमानको तट नजिक भएको एक घटनामा क्षति पुगेपछि एउटा कन्टेनर जहाजमा आगलागी भएको जनाएको छ । इरानको सरकारी सञ्चार माध्यम ‘प्रेस टिभी’का अनुसार दक्षिणी इरानका विभिन्न सहरमा विस्फोट भएका छन् । साथै, इरानले मध्यपूर्वमा रहेका अमेरिकी लक्ष्यविरुद्ध शृङ्खला बद्ध जवाफी आक्रमण सुरु गरेको जनाएको छ ।
समाचारमा संयुक्त अरब इमिरेट्स र कतारमा आक्रमण भएको तथा बहराइनमा क्षेप्यास्त्र चेतावनी साइरन बजाइएको उल्लेख गरिएको छ । कतारको गृह मन्त्रालयले केही घण्टाभित्र दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कताको स्तर बढाउँदै सार्वजनिक चेतावनी जारी गरेको थियो । मन्त्रालयले नागरिकलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ ।
इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्सले जोर्डनस्थित प्रिन्स हसन एयर बेसको कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । यसअघि इरानले अनाधिकृत मार्ग प्रयोग गरिरहेको एक जहाजमाथि कारबाही गरिएको जनाउँदै त्यसपछि होर्मुज जलसन्धि बन्द गरिएको घोषणा गरेको थियो ।
साथै, उक्त घटनाको प्रतिशोध लिन गरिने कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी पनि दिएको थियो । आइआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षालाई जोखिममा पार्ने गरी आफ्नो पहिचान प्रणाली बन्द गरेको जहाजलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार, होर्मुज जलसन्धि अर्को सूचना जारी नभएसम्म तथा त्यस क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहने छ ।


