बेलायतको नेपाली समुदायमा बढ्दो छ घरेलु हिंसा, तर पीडित आउंदैनन् अगाडि



लन्डन । घरेलु हिंसा र मानसिक स्वास्थ्यबीचको जटिल सम्बन्धबारे जनचेतना फैलाउने उद्देश्यले आइतबार एक विशेष कार्यक्रम ‘ब्रेकिङ साइलेन्सः डोमेस्टिक भायोलेन्स एन्ड इट्स इम्प्याक्ट अन मेन्टल हेल्थ’ भएको छ।
कार्यक्रम नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूके र नेपलिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) को संयुक्त आयोजनामा गरिएको हो ।
सामाजिक कार्यकर्ता श्रीमती लक्ष्मी राईद्वारा प्रस्तुत उक्त कार्यक्रममा घरेलु हिंसाका विभिन्न पक्ष र यसको मनोवैज्ञानिक प्रभावबारे विस्तृत रूपमा चर्चा गरियो ।
कार्यक्रमलाई दुई प्रमुख खण्डमा विभाजन गरिएको थियो, जसमा पहिलो खण्डमा श्रीमती राईले घरेलु हिंसाको आधारभूत परिचय र यसको मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे चर्चा गरेकी थिइन् भने दोस्रो खण्डमा मनोचिकित्सक डा. देवमान गुरुङले घरेलु हिंसा र मानसिक रोगबीचको जटिल सम्बन्धबारे गहिरो विश्लेषण प्रस्तुत गरे ।
कार्यक्रममा वक्ताहरूले घरेलु हिंसालाई नियन्त्रण, जबरजस्ती, धम्की र अपमानजनक व्यवहारको रूपमा परिभाषित गरे । राईले वुमेन्स एडको परिभाषा उद्धृत गर्दै घरेलु हिंसा भनेको नियन्त्रण गर्ने, जबरजस्ती गर्ने, धम्की दिने, अपमानजनक र हिंसात्मक व्यवहार, यौन हिंसासहित धेरैजसो अवस्थामा पार्टनर वा पूर्व–पार्टनरद्वारा हुने बताइन् । तर परिवारका सदस्य वा हेरचाहकर्ताद्वारा पनि घटनाहरू सृजित हुने उनको भनाइ थियो ।
घरेलु हिंसा भन्ने बित्तिकै धेरैले शारीरिक हिंसालाई मात्र बुझ्ने गरेको भन्दै राईले यसका विभिन्न प्रकारबारे चर्चा गरिन् । शारीरिक दुव्र्यवहारमा कुटपिट, लात्ती प्रहार, सास फेर्न नदिने, थप्पड हान्ने जस्ता कार्य समावेश हुन्छन्। मौखिक दुव्र्यवहारमा निरन्तर आलोचना गर्ने, चिच्याउने, धम्की दिने वा प्रियजनलाई हानी पुरयाउने जस्ता व्यवहार पर्दछन्।
यौन दुव्र्यवहारमा यौन उत्पीडन, यौन दुव्र्यवहार, वा दोष वा धम्कीमार्फत कसैलाई यौनसम्बन्ध राख्न हेरफेर गर्ने कुरा समावेश छ । आर्थिक दुव्र्यवहारमा व्यक्तिको आम्दानी वा आर्थिक सहायता नियन्त्रण गर्ने, उसको क्रेडिटको दुरुपयोग गर्ने, वा व्यक्तिलाई जागिर, शिक्षा आदि प्राप्त गर्न वा कायम राख्न गाह्रो बनाउने समावेश हुन्छ।
भावनात्मक वा मानसिक दुव्र्यवहारमा दुव्र्यवहारको लागि व्यक्तिलाई दोष दिने, परिवारबाट अलग राख्ने, बाहिर सामाजिकीकरण गर्न नदिने, अवास्तविक माग गर्ने, र दुव्र्यवहार भइरहेको छ भन्ने कुरा अस्वीकार गर्ने जस्ता व्यवहार पर्दछन्। यसैगरी, डिजिटल दुव्र्यवहारमा तपाईंको पासवर्ड र सामाजिक सञ्जाल खाताहरू नियन्त्रण गर्ने, फोन र सन्देशहरू खोजी गर्ने, र जिपिएस वा सम्बन्धित प्रणालीमार्फत निगरानी गर्ने जस्ता कार्य समावेश हुन्छन्।
कार्यक्रमकी प्रमुख वक्ता श्रीमती राईले घरेलु हिंसाको मानसिक स्वास्थ्यमा पर्ने दीर्घकालीन प्रभावहरूबारे चर्चा गरिन्। उनले यूकेमा चारमध्ये एकजना महिलाले कुनै न कुनै रूपमा घरेलु हिंसाको अनुभव गरेको र यो यूकेका महिलाहरूमा डिप्रेसनको प्रमुख कारण भएको उनको भनाइ थियो । हिंसाका कारण हुने मानसिक स्वास्थ्य समस्याहरूमा अभिघातजन्य तनाव विकार अर्थात् (पिटिएसडी) जसमा फ्ल्यासब्याक, दुःस्वप्न, गम्भीर चिन्ता, र अनियन्त्रित विचारहरू समावेश हुन्छन् । डिप्रेसन अर्थात् लामो समयसम्म उदासी रहने, चिन्ता, कम आत्म–सम्मान र आत्म–बोधमा प्रश्न उठ्ने, र रक्सी तथा लागूऔषध दुरुपयोग जस्ता समस्याहरू रहेको उनले बताइन्।
डिप्रेसन र आत्महत्याको सोचका प्रारम्भिक लक्षणहरू पहिचान गर्ने र पीडितलाई सहयोग प्रदान गर्ने तरिकाबारे पनि उनले चर्चा गरिन्। पीडित गाह्रो अवस्थामा हो भनी स्वीकार गर्ने, उहाँ एक्लो हुनुहुन्न र मद्दत तथा सहयोग उपलब्ध छ भनी आश्वस्त पार्ने, उहाँले के भन्नुहुन्छ सुन्ने, पीडितले गर्ने निर्णयहरूको सम्मान गर्ने, उहाँको अवस्था र निर्णयहरूको बारेमा न्याय वा आलोचना नगर्ने, र पेशेवरहरूसँग मद्दत खोज्न उहाँलाई सहयोग गर्ने उनले बताइन्।
कार्यक्रममा पीडितहरूले मद्दत खोज्ने क्रममा भोग्नुपर्ने अवरोधहरूबारे पनि विस्तृत चर्चा भएको थियो। दुव्र्यवहारको सामान्यीकरण र पितृसत्तात्मक लैङ्गिक मानदण्डहरू, भाषा र सांस्कृतिक अवरोधहरू, घरेलु हिंसा र मानसिक स्वास्थ्यसँग जोडिएको कलंक, परिवारबाट हुने मेलमिलापको दबाब, आर्थिक निर्भरता, सहयोग सञ्जालको अभाव, पर्याप्त प्रमाण नहुने डर, र प्रहरी तथा कानूनी प्रणालीप्रति अविश्वास जस्ता अवरोधहरू रहेको बताइयो।
त्यस्तै, बच्चाहरू गुमाउने डरले पनि धेरै पीडितहरू मद्दत खोज्नबाट पछि हट्ने गरेको राईल् उल्लेख गरिन्। कार्यक्रममा पीडित र साक्षीहरूले तुरुन्त मद्दत प्राप्त गर्न सक्ने विभिन्न हेल्पलाइन नम्बरहरू पनि सार्वजनिक गरिएको थियो। यसका साथै, कानूनी संरक्षण, व्यावहारिक र भावनात्मक सहयोग, सुरक्षा योजना र आश्रय सिफारिस, अनुवाद तथा दोभान सेवा, प्रहरी र वकिल तथा कानुनी सहायता, सार्वजनिक कोषमा कुनै सहारा नभएका पीडितहरूलाई सहयोग गर्ने डीडीभीसी सेवा, निगरानीमा रहेको बाल सम्पर्क, र आवास सहयोग लगायतका सेवाहरू उपलब्ध रहेको समेत राईले जानकारी दिइन्।
कार्यक्रमको दोस्रो खण्डमा मनोचिकित्सक डा. देवमान गुरुङले ‘घरेलु हिंसा र मानसिक स्वास्थ्यः बहु–स्तरीय दृष्टिकोण’ शीर्षकमा आफ्नो प्रस्तुति राखेका दिए । उनले घरेलु हिंसा भनेको वर्तमान वा पूर्व साथीमाथि नियन्त्रण वा शक्ति प्राप्त गर्ने उद्देश्यले गरिने एक वा बढी कार्य वा व्यवहारको दोहोरिने ढाँचा भएको बताए। उनले जिम्मेवारी सधैं दुव्र्यवहार गर्ने व्यक्तिमा हुने र यो कानूनविपरीत भएको स्पष्ट पारे।
नेपाली समाजमा घरेलु हिंसाका पीडितहरूले सामना गर्नुपर्ने थप चुनौतीबारे चर्चा गर्दै उनले भाषा र सांस्कृतिक अवरोधहरू, आर्थिक अवस्था, आप्रवासन स्थिति, पर्याप्त प्रमाण नहुने डर, विगतका घटनाहरूको दुःखद अनुभव, र परिवारको इज्जत जोगाउने दबाब जस्ता समस्याहरू रहेको बताए।
डा. गुरुङले घरेलु हिंसा र मानसिक रोगबीचको जटिल र द्वि–दिशात्मक सम्बन्धबारे चर्चा गर्दै मानसिक रोग परिणाम, जोखिम कारक, वा दुव्र्यवहारको हतियार हुन सक्ने र मानसिक रोग भएका धेरै मानिस हिंस्रक नहुने पनि स्पष्ट पारे।
आघातको मनोवैज्ञानिक प्रभावबारे चर्चा गर्दै डा. गुरुङले पीटीएसडी र जटिल पीटीएसडी, जसमा फ्ल्यासब्याक र अति सतर्कता हुने, डिप्रेसन र चिन्ता, निराशा र निरन्तर डर हुने, लागूपदार्थको प्रयोग जुन अनुकूलनको गलत संयन्त्र हो, आत्महत्याको सोच जसमा फसेको र निराश महसुस गर्ने, र विघटन जसमा आत्म–बोधको खण्डित भावना हुने जस्ता समस्याहरू रहेको बताए।
हानी गर्ने व्यक्तिका लागि जोखिम कारकहरूमा व्यक्तित्व विकार अर्थात् सहानुभूतिको कमी वा अधिकारको भावना, लागूपदार्थको प्रयोग अर्थात् कम अवरोध र बढेको आक्रामकता र व्यवस्थापन नगरिएको आघात इतिहास अर्थात् अति उत्तेजना र चिडचिडापन रहेको उनले बताए। तर यी कारकहरू दुव्र्यवहारको बहाना नभई दुव्र्यवहार एउटा छनौट भएको र जवाफदेहिता पहिलो हुनुपर्नेमा उनले जोड दिए।
डा. गुरुङले मानसिक रोगलाई नियन्त्रणको रणनीतिको रूपमा पनि प्रयोग गरिने बताए। ग्यासलाइटिङ गरी आत्म–शङ्का उत्पन्न गर्ने, सामान्य आघात प्रतिक्रियाहरूलाई रोगको रूपमा व्याख्या गर्ने, अनिच्छुक भर्ना वा कानूनी हेरफेरको धम्की दिने र उपचार वा औषधिमा पहुँच अवरुद्ध गर्ने जस्ता कार्यहरू यस अन्तर्गत पर्दछन्। उनले ‘तिमीलाई के समस्या छ?’ भन्ने दृष्टिकोणबाट ‘तिमीलाई के भयो?’ भन्ने दृष्टिकोणमा सर्नु आवश्यक रहेको बताउँदै आघात–सूचित हेरचाह अपनाउन, सुरक्षा, गरिमा र उपचारलाई प्राथमिकता दिन, र दयालु तथा बहु–स्तरीय हस्तक्षेपहरू प्रयोग गर्नुपर्ने धारणा राखे।
उपचार र सशक्तिकरणका लागि सेवाहरूमा आघात–सूचित हेरचाह, इएमडीआर र आघात–केन्द्रित सीबीटी जस्ता उपचार विधिहरू, सहायता समूहहरू, बाँचेकाहरूको अनुभवको प्रमाणीकरण, र व्यापक सुरक्षा योजना आवश्यक रहेको उनले बताए।
बालबालिकामा हिंसाको प्रभावबारे चर्चा गर्दै डा. गुरुङले हिंसा देख्नु विकासात्मक आघात भएको र अर्को पुस्ताको लागि चक्र तोड्न प्ले थेरापी, टीएफ–सीबीटी, विद्यालय–आधारित सहयोग, र गैर–दुव्र्यवहार गर्ने अभिभावकलाई सहयोग गरी सुरक्षित र स्थिर वातावरण सिर्जना गर्नुपर्ने बताए। यूकेमा रोकथाम र सहयोगमा बढ्दो ध्यान केन्द्रित भइरहेको उल्लेख गर्दै उनले प्रारम्भिक शिक्षामा बलियो जोड, विशेषज्ञ स्रोत र प्रशिक्षणको विस्तार, इङ्गल्याण्डमा २० मिलियन पाउन्डको भीएडब्ल्यूजी रणनीति, सहमति र स्त्रीद्वेषमा प्रशिक्षण, र मानसिक रूपले स्वस्थ्य विद्यालय तथा मौनता तोड्दै जस्ता कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए।
कार्यक्रम समापनमा सुरक्षाका लागि ५ आर सिद्धान्त प्रस्तुत गरिएको थियो जसमा लक्षणहरू पहिचान गर्ने, उचित प्रतिक्रिया दिने, सही व्यक्तिलाई रिपोर्ट गर्ने, विवरणहरू सही रूपमा रेकर्ड गर्ने, र आवश्यक परेमा बाह्य निकायहरूलाई सिफारिस गर्ने समावेश छ। वक्ताहरूले दुव्र्यवहार शक्ति र नियन्त्रणमा आधारित एउटा छनौट भएको, मानसिक स्वास्थ्य कारण, परिणाम वा हतियार हुन सक्ने, हस्तक्षेपहरू आघात–सूचित हुनुपर्ने, र रोकथामको केन्द्रविन्दु शिक्षा हुनुपर्ने मुख्य निष्कर्षहरू प्रस्तुत गरे।
श्रीमती राईले कसैलाई भन्नुहोस्, यदि तपाईं पीडित हुनुहुन्छ वा हिंसाको साक्षी हुनुहुन्छ भने कसैलाई भन्नुहोस् वा प्रहरीलाई सूचना दिनुहोस्, सबै हिंसा र दुव्र्यवहारलाई गम्भीरतापूर्वक लिनुहोस्, अडान लिनुहोस्, व्यक्तिगत बन्नुहोस्, शक्ति फिर्ता लिनुहोस्, र याद राख्नुहोस् कि अरूलाई तल राख्दा तपाईं माथि उठ्दैन भन्ने सन्देश दिँदै आफ्नो प्रस्तुति अन्त्य गरेकी थिइन् ।
कार्यक्रम समापन गर्दै आयोजक तर्फबाट एनएनए यूकेकी अध्यक्ष रस्मिता दर्लामीले सहभागीलाई धन्यबाद दिंदै यस्ता कार्यक्रम आगामी दिनहरूमा समेत गर्दै लगिने बताइन् भने अर्को आयोजक संस्था एनबीसी यूकेका अध्यक्षले उपस्थित सबैलाई धन्यबाद दिंदै संस्थासंग जोडिएर सबैलाई हातेमालो गर्न अनुरोध समेत गरे।
एनएनए यूके अध्यक्ष रस्मिता दर्लामीले सञ्चालन गरेको उक्त भर्चुअल कार्यक्रममा करिब ५० जना सहभागी थिए । शुरुमा एनबीसी यूके महासचिव दामोदर आचार्यले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।
-कृष्णप्रसाद शर्मा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


