तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङसहित चार सम्मानित


काठमाडौँ—तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, तमुधिं यूके आमा समूहकी वरिष्ठ उपाध्यक्ष नन्दा गुरुङ तथा गोर्खा जिल्ला तमु समाज यूके अध्यक्ष टेकमान गुरुङलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेको छ ।
नेपाल भ्रमणमा रहंदा उनीहरुलाई परिषद्को केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो ।
परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतबाट आएका अतिथिहरूलाई खादा तथा फेटा ओढाएर हार्दिक स्वागत गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु समाज यूकेको स्थापनाकालीन संघर्ष र वर्तमान गतिविधिबारे प्रकाश पारे । उनले प्रारम्भिक चरणमा नेपालबाट बेलायत बसाइँ सरेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई सहयोग गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए ।
उनका अनुसार अहिले तमु समाज यूकेले बेलायतमा मृत्यु भएका नेपालीहरूको पार्थिव शरीर नेपाल पठाउने कार्यदेखि नेपालमा आइपर्ने प्राकृतिक प्रकोप तथा विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको छ ।
साथै, बेलायतमा तमु तथा नेपाली धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने कार्यलाई संस्थाले उच्च प्राथमिकतामा राख्दै आएको पनि उनले उल्लेख गरे ।

दुई संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता
आफू र आफ्नो टोलीलाई गरिएको आत्मीय सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै उनले अध्यक्ष धनमान गुरुङ, सम्पूर्ण कार्यसमिति तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा तमु समाज यूके र तमु ह्युल छोंज धींबीचको सम्बन्ध अझ सुमधुर, सुदृढ र सहकार्यपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण तमु समुदायबीच एकता कायम रहोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
उक्त कार्यक्रम सञ्चालन परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले गरेका थिए ।
कार्यक्रममा परिषद्का उपाध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा विभिन्न क्षेत्रका तमु व्यक्तित्वको उपस्थिति थियो ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


