शनिबार, ७ फ्रेब्रवरी, २०२६
18:59 | ००:४४

कांग्रेस सच्चियो, अब पार्टी देश बदल्ने अभियानमा होमिएको छ: गगन थापा

रासस फ्रेब्रवरी ७, २०२६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घरघरसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको भन्दै पार्टी अब देश बदल्ने अभियानमा लागेको सन्देश गाउँ र घरघरसम्म पुर्‍याउनुपर्ने धारणा राखे । “कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन, यो सन्देश घरघरमा पुर्‍याउनु पर्छ । अघिल्लो निर्वाचनमा काँग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्छ”, उनले भने । अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस भएर आएको उनको भनाइ छ ।

सभापति थापाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्नका लागि काँग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको उल्लेख गरे । उनले विशेष महाधिवेशनमा कसैले जितेको र हारेको नभई पार्टीले जितेको बताए । “सबै पक्षलाई मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस हो । मुलुकमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जानेछ”, उनले भने ।

कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए । उनले भदौ २३ र २४ को आन्दोलनले आफूहरूलाई पनि खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रूपान्तरणमार्फत पार्टी निर्वाचनमा होमिएको उल्लेख गरे ।

महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा काँग्रेसजस्तो नयाँ अरू पार्टी नभएको बताए । समाजको चाहनाअनुसार नयाँ ढङ्गबाट पार्टी अघि बढिरहेको उनको भनाइ छ । जनताले चाहेजस्तो नेतृत्व काँग्रेसले ल्याएको भन्दै उक्त नेतृत्वले देश बदल्ने अठोट लिएको पौडेलले बताए ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद श्यामबहादुर खड्काले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वसहित आएको पार्टीले देश विकास गर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ को निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू