वरिष्ठ कलाकार सुनिल थापाको निधन


काठमाडौँ, माघ २४ गते — नेपाली र भारतीय चलचित्र उद्योगका स्थापित व्यक्तित्व एवं वरिष्ठ कलाकार सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ।
हृदयाघातका कारण आज बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गर्दै नेपाली कला क्षेत्रले एउटा अपूरणीय क्षति व्यहोर्नुपरेको बताए ।
राससका अनुसार, बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए ।
“बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भने ।
अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । “उहाँको परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भने ।
लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रको अभिनयमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए । उनी शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।
‘राते काइँला’ को उपनामले समेत चर्चित थापाले चारदशक भन्दा लामो आफ्नो फिल्मी करियरमा सयौँ नेपाली र बलिउड चलचित्रमा अविस्मरणीय भूमिका निर्वाह गरेका छन् ।
प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता थापाको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । एक शोक वक्तव्य जारी गर्दै कार्कीले नेपाली तथा भारतीय चलचित्र क्षेत्रले एक बहुआयामिक कलाकार र दरिलो खम्बा गुमाएको उल्लेख गरेकी छन् ।
वक्तव्यमा ‘चिनो’ फिल्मका राते काइँलादेखि ‘मेरी कोम’मा प्रशिक्षकको भूमिकासम्म सुनिल थापाले निर्वाह गरेका खलनायक र सहनायकका पात्रहरूले करोडौँ दर्शकको मन जितेको स्मरण गरिएको छ। ती पात्रहरू दर्शकको स्मृतिमा सदैव जीवित रहने पनि उल्लेख छ।
चार दशकभन्दा बढी समयसम्म चलचित्र क्षेत्रमा सक्रिय रहँदै थापाले गरेको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने वक्तव्यमा भनिएको छ।
प्रधानमन्त्री कार्कीले यस दुःखद् घडीमा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



