ब्रिटिश कलेजविरुद्ध षड्यन्त्र र रकम असुलीमा जोडिएको मिडियाले माग्यो माफी



काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रशारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ ।
डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट भएको गल्ती स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभागमा दर्ता नं. ४५२४–२०८०–२०८१ तथा प्रेस काउन्सिल नेपालमा सूचीकृत दर्ता नं. ४५०६ अन्तर्गत दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लि.ले सत्यतथ्य जाँच नगरी सामग्री प्रशारण गरिएको स्वीकार गरेको छ ।
कलेजलाई प्रेषित पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रशारण गरिएको थियो । ती सामग्रीहरू केही व्यक्ति तथा विद्यार्थीहरूबाट आएको दबाब र सूचनाको आधारमा तयार गरिएको डाँफे मिडियाको भनाइ छ ।
पत्रमा भनिएको छ, “यस कार्यको पूर्ण जिम्मेवारी डाँफे मिडियाले लिन्छ । यसलाई हामी आफ्नै गल्ती तथा गलत कार्यका रूपमा स्वीकार गर्दछौं ।” साथै, कलेजको व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई पर्न गएको मानसिक, सामाजिक तथा संस्थागत असरप्रति हार्दिक र निःशर्त माफी मागिएको छ ।
यसअघि द ब्रिटिश कलेजलाई धम्क्याएर ३० लाख रुपैयाँ असुल गर्न खोजेको आरोप लागेका विवेक ढकालले समेत डाँफे मिडियाको नाम लिएको प्रसंग सार्वजनिक भएको थियो । कलेजका पूर्व विद्यार्थी ढकालले अनुचित आर्थिक लाभ लिन मिडिया प्रयोग गरेका थिए । हाल प्रहरी हिरासतमा रहेका ढकालविरूद्ध मुद्दा चलिरहेको छ ।
त्यस्तै, कलेजविरूद्ध भ्रम फैलाउँदै आएकी प्रियंका नेपाल, सजिना खड्काले पनि डाँफे मिडियालाई गलत सूचना दिएको बताइएको छ । अरूको कुरालाई सत्य मान्दा मिडियाले गल्ती गरेको पत्रमा उल्लेख छ ।

सुधारात्मक कदमस्वरूप डाँफे नेपाल मिडियाले द ब्रिटिश कलेजसँग सम्बन्धित सम्पूर्ण भिडियो तथा सामग्रीहरू आफ्ना सबै डिजिटल प्लेटफर्मबाट हटाउने निर्णय गरेको जनाएको छ ।
स्रोतका अनुसार प्रियंका नेपालले कलेजसँग ठूलो रकम असुली गर्ने उद्देश्यले केही व्यक्ति तथा मिडियालाई प्रयोग गर्न खोजेकी थिइन् । उनी अहिले पनि सोही खालका गतिविधिहरुमा संलग्न रहेको पाइएको छ । कलेजको पहिलो वर्षकी विद्यार्थी प्रियंका दुबई नपुगी त्यहाँ अध्ययन गर्न पुगेका केही विद्यार्थीहरुलाई भड्काएर नेपाल फर्काएकी थिइन् । काठमाडौँको केही कलेजबाट उनी कारबाहीमा परेर निष्काशनमा परेकी विद्यार्थी रहेको पाइएको छ ।
अमेरिका तथा अस्ट्रेलियाको भिसा रिजेक्ट भएपछि उनी नेपालमै पढ्न थालेकी हुन् । त्यसक्रममा ब्रिटिश कलेजमा भर्ना भएकी उनले आफैंले अध्ययन गरेको कलेजका शिक्षक, कर्मचारी, सञ्चालक तथा उनकै सहपाठीहरुलाई अभद्र व्यवहार समेत गरेकी छिन् । हाल उनी कलेजबाट निलम्बित छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


