बिहीबार, १९ फ्रेब्रवरी, २०२६
03:27 | ०९:१२

एनआरएनए १२ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा हुने भएको छ।
संघले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलन तथा महाधिवेशन हुने जानकारी दिएको हो।

सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ। उक्त समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघको सचिवालयले नै कार्य गर्नेछ। सम्मेलन तथा महाधिवेशनका तयारीका कामहरू क्रमशः अगाडि बढिरहेको संघले जनाएको छ।

सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त हुने संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवाहरूलाई नेपालसँग जोड्ने विषयमा केन्द्रित हुने संघका अध्यक्ष बद्री केसीले जानकारी दिए।

उनले एकता महाधिवेशनले गैरआवासीय नेपालीहरूको समस्या समाधानमा गर्न सरकारलाई दबाब सिर्जना गर्ने उल्लेख गरे।

केसीले नेपालबाहिर रहेका नेपालीहरूलाई निर्वाचनमा मतदान गर्ने अधिकार नेपाल सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनकाअनुसार हाल बाहिर रहेका करिब ८० लाख नेपालीमध्ये अधिकांशले नेपाली नागरिकता कायम राखेरै विदेशमा बसोबास गरिरहेका छन्।

विदेशमा बसोबास गरिरहेका नेपालीले नेपालकै निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउनु नैसर्गिक अधिकार भएको उनको भनाइ छ। परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने अधिकार सुनिश्चित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताए।

उनले भने, ‘आजको परिवर्तित नेपालमा नेपालको मूल्य र मान्यता पनि परिवर्तन भएका छन्। पहिला हामीले संविधानमा गैरआवासीय नेपालीहरूको अधिकार मागेका थियौं भने अब ८० लाख नेपालीहरूमध्ये अधिकांश नेपालीहरू नेपाली नागरिकता नै राखेर विदेशमा बसेका छन्। अब परिवर्तित नेपालको निर्वाचनमा विदेशमा नै बसेर पनि नेपालको निर्वाचनमा भाग लिन पाउने कुराहरू हाम्रो नैसर्गिक अधिकारभित्र पर्छ। मलाई आशा छ, यो परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने हाम्रा अधिकारहरू सुनिश्चित हुन्छन्।’

उनले अगाडि भने, ‘अब देश अरू कसैले बनाउँदैन, संसारका सबै विकसित देश हेर्ने हो भने त्यो देशका आप्रवासीहरूले नै विदेशमा बसेको सीप र ज्ञानलाई आफ्नो देशमा भित्र्याएर, विदेशमा कमाएको पैसालाई आफ्नो देशमा भित्र्याएर देशलाई समृद्ध बनाउन सहयोग गरिरहेका छन्। अब पालो गैरआवासीय नेपाली संघको हो, अब पालो गैरआवासीय नेपालीहरूको हो। हामी विदेशमा कमाएको सीप, ज्ञान, प्रविधि, विदेशमा कमाएको पैसा नेपालमा भित्र्याउन तयार छौं। नेपालमा लगानी गर्न तयार छौँ।’

अध्यक्ष केसीले विश्वका विकसित देशहरू आप्रवासीको सहयोगले नै समृद्ध भएको बताए । उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी स्वदेशमा भित्र्याएर देश विकासमा गैरआवासीय नेपालीले महत्वपूर्ण योगदान गर्ने दाबी गरे। उनले नेपालमा लगानी गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताए। –न्युज एजेन्सी नेपाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू