मंगलबार, २७ जनवरी, २०२६
14:56 | २०:४१

युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप

नेपाली लिङ्क जनवरी २७, २०२६

काठमाडौं ।  सामाजिक अभियन्ता भनाउदा  युवराज पौडेल ‘सफल’ लाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।  जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताविरुद्ध भ्रामक, तथ्यहीन र अपमानजनक अभिव्यक्ति दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले सफलले संस्थाको गरिमा र पदाधिकारीको सम्मानमा आँच पुग्ने गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेको भन्दै प्रहरीलाई औपचारिक रूपमा कारबाहीको लागि अनुरोध गरेको थियो।

सोही अनुरोधको आधारमा प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ। उनी अहिले प्रहरी हिरासतमा छन्।

रवि लामिछानेको नागरिकता विवादलगायत विभिन्न सार्वजनिक सरोकारका मुद्दामा रिट निवेदन दिएर चर्चामा आएका सफल पछिल्लो समय सरकारी निकाय र उच्च पदस्थ अधिकारीहरूविरुद्ध आक्रामक टिप्पणीका कारण विवादमा तानिएका थिए।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन वा गाली बेइज्जतीसम्बन्धी कुन कानून अन्तर्गत मुद्दा चलाउने भन्ने विषयमा थप प्रमाणहरू संकलन गरिरहेको जनाएको छ। हाल उनी प्रहरी हिरासतमा रहेका छन् र उनीसँग सोधपुछ गर्नुका साथै प्रमाण जुटाउने काम भइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू