शनिबार, २४ जनवरी, २०२६
12:01 | १७:४६

सुदूरपश्चिम प्रदेश र उपल्लो मुस्ताङमा भारी हिमपात

रासस जनवरी २४, २०२६

बैतडी, माघ १० गते । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको राजमार्ग अवरुद्ध भएको छ । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध रहेका हुन् ।

रातिदेखि नै राजमार्गअवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्गअवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द छ । उनले भने, ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।’

यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलो पटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित छ ।

उता, उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो ।

तिब्वतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङलगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू