वैशाखयता देशभर झण्डै ६ हजार विपद्, ४२४ जनाको ज्यान गयो


काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर कूल पाँच हजार नौ सय ६६ वटा विपद्का घटना घटेका छन् । ती विपद्का कारण चार सय २४ जनाले ज्यान गुमाएका छन् भने एक हजार छ सय ४३ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार पाँच सय ३५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । कूल दुई हजार छ सय ९२ वटा आगलागीका घटनामा ७५ जनाको अकालमा ज्यान गएको छ । आगलागीबाट चार सय ४२ जना घाइते भएका छन् भने दुई हजार नौ सय ९६ परिवार प्रभावित भएका छन् ।
यसैगरी, पहिरोका पाँच सय ७७ वटा घटना हुँदा ७१ जनाको मृत्यु भएको छ । पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् भने ८० जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार बाढीका तीन सय १६, भारी वर्षाका चार सय २७, चट्याङका तीन सय ५२ र सर्पदंशका पाँच सय ८० घटना घटेका छन् । त्यस्तै वन डढेलोका एक सय ८६, हावाहुरीका दुई सय ९०, जनावर आक्रमणका चार सय २२ र लेक लाग्ने एक सय पाँच घटना अभिलेख भएका छन् ।
यस अवधिमा हिउँ पहिरोका पाँच, भूकम्पका सात तथा डुङ्गा पल्टिने दुई घटना भएका छन् । साथै असिना पानी, शीतलहर, महामारी र हवाई दुर्घटनाका एक–एक घटना भएका छन् ।
पछिल्ला दिनहरूमा आगलागीका घटना झन् बढ्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ । सामान्य सावधानी अपनाएमा न्यूनीकरण गर्न सकिने आगलागीका घटनामा जनचेतना र सतर्कता अत्यन्त आवश्यक रहेको प्राधिकरणको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


