चुनाव लड्न हर्क साम्पाङले पनि दिए राजीनामा



धरान (सुनसरी), माघ ४ गते । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) ले पदबाट राजीनामा दिएका छन् । उनले आजैदेखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताए ।
उनले भने, “म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो ।”
साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । उनले यहाँ कार्यरत रहँदा श्रमदान अभियान, सुशासन प्रवर्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
साम्पाङको राजीनामापछि उपप्रमुख बेघाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
आजै काठमाडौं मेयर बालेन्द्र शाह (बालेन) ले पनि राजीनामा दिएका छन् ।



