मंगलबार, १३ जनवरी, २०२६
22:02 | ०३:४७

निर्वाचन एकै चरणमा हुन्छ : गृहमन्त्री

रासस जनवरी १३, २०२६

सप्तरी, पुस २९, २०८२ – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसकेको बताएका छन् । उनले दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको स्पष्ट पारे ।

सप्तरीको राजविराजमा मंगलबार साँझ सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले निर्वाचनबारे कुनै शंका छैन र निर्वाचन देशभर एकै चरणमा हुन्छ भने ।

देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सकारको दायित्व भएको बताए ।

गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेट’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्तिसुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ ।’

गृहमन्त्री अर्यालले, ‘राजनीतिक दलहरूको सक्रियता, जनस्तरको चासो र समग्र परिस्थितिले निर्वाचनको माहोलसमेत मजबुत हुँदै गएको सङ्केत गरेको छ, पहिलेजस्तो वातावरण नराम्रो छैन, अहिले निर्वाचनको माहोल धेरै सुदृढ हुँदै गएको छ ।’

उनीसँगै सप्तरी आएका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले तोकिएकै मितिमा धाँधलीमुक्त चुनाव हुने विश्वास व्यक्त गरे । त्यसका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेकाले निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू