पूर्व ब्रिटिश गोर्खा बुढामगर आफूले इतिहास रचे, विश्वलाई प्रेरित गरे
कृत्रिम खुट्टाको सहायताले विश्वका सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण



लन्डन । सन् २०१० मा अफगानिस्तानको युद्धभूमिमा भएको एक विस्फोटमा रोल्पाका युवा गोर्खा सैनिक हरि बुढामगरले आफ्ना दुवै खुट्टा मात्र गुमाएनन्, उनको भविष्यको सपना पनि धरापमा पर्यो ।
त्यो क्षणपछि उनले मात्र नभई धेरैले उनको भविष्य समाप्त भयो होला भन्ने ठानेका थिए । ह्विलचेयरमा सीमित हुने अनुमान, अस्पतालका दिनहरू, पुनःस्थापनाको कठिन यात्रा सबै कुरा एउटा कथाको दुःखद अन्त्यजस्तै लाग्थ्यो, तर त्यो अन्त्य नभएर नयाँ अध्यायको थालनी रहेछ भन्ने साबित भयो ।
आज तिनै हरि बुढा मगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका सर्वोच्च शिखरहरू ‘सेभेन समिट’ आरोहण गरेर पहिलो ‘डबल एभब नी’ (घुँडामाथिबाट दुवै खुट्टा नभएका) आरोही बनेर नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका छन् ।
अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मिटर) को सफल आरोहण गरी उनले विश्व इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखेका हुन् । यो उपलब्धि केवल एउटा रेकर्ड नभएर मानवीय इच्छाशक्ति, अनुशासन र ‘जति चोट, उति प्रतिरोध’ भन्ने भावनाको विश्वव्यापी प्रमाण हो ।
गत अक्टोबर १८ मा ओसिनियाको ‘कार्सटेन्ज पिरामिड’ आरोहण गरेर छैटौँ खुड्किलो पार गरेका हरिका लागि अन्टार्कटिकाको यो अभियान अन्तिम र सर्वाधिक चुनौतीपूर्ण थियो । कृत्रिम खुट्टाको सहायताले हिमशृंखलामा पाइला राख्दा उनले केवल हिमाल आरोहण गरेनन्, उनले संसारभरका लाखौँ अपाङ्गता भएका निराश व्यक्तिहरूको प्रतिनिधित्व गरे ।
हरिको यो साहसिक यात्रा शारीरिक रूपमा जति चुनौतीपूर्ण थियो, आर्थिक रूपमा पनि त्यति नै कठिन थियो, तर उनले हार मानेनन् । उनले एउटा सरल तर शक्तिशाली आह्वान गरे– एक पाउन्ड अभियान ।
उनको भनाइ थियो, ठुलो उपलब्धि ठुलो रकमले मात्र होइन, धेरै मनको सानो–सानो सहयोग र एकताबाट पनि सम्भव हुन्छ । बेलायतमा रहेका दुई लाख नेपालीमध्ये आधाले मात्र १ पाउन्ड सहयोग गरे पनि सपना पूरा हुने उनको विश्वास थियो ।
त्यही विश्वासलाई प्रवासी नेपालीले मात्र होइन, विदेशी समुदायले अझ उल्लासका साथ सहर्ष स्वीकार गरे । क्राउड फन्डिङमार्फत एक लाख पाउन्ड उठाउने उनको अभियानमा अहिलेसम्म ९९ हजार पाउन्डभन्दा बढी रकम संकलन भइसकेको छ ।
अभियानमा बेलायती प्रविधि कम्पनी ‘डिजीटुअल’ले ५० हजार पाउन्ड मुख्य प्रायोजन गरेर उनको सपनालाई थप मजबुत बनायो । उनको अभियानको आधा हिस्सा नै ‘डिजीटुअल’ले बहन गर्यो ।
यो सहकार्यले अपाङ्गता सम्बन्धी विश्वव्यापी चेतना फैलाउने र शारीरिक चुनौती भएका व्यक्तिहरूलाई आफ्ना लक्ष्य प्राप्त गर्न प्रेरित गर्ने अभियानमा नयाँ ऊर्जा थपेको छ । ‘यो सहकार्यले मलाई थप भरोसा दिएको छ । मेरो टोली र मप्रति ‘डिजीटुअल’ले राखेको विश्वासलाई काममार्फत सम्मानपूर्वक फर्काउने प्रयास गर्नेछु,’ हरिले भने ।
उनका लागि हिमाल ढुंगा र हिउँको थुप्रो मात्र होइन, ती जीवनका संघर्षका प्रतीक हुन् । उनी भन्छन्, ‘हरेक मानिसको जीवनमा आ–आफ्नै पहाड हुन्छ । अपांगता जीवन रोकिनुको कारण बन्नु हुँदैन । म कठिन परिस्थितिमा रहेका हरेक व्यक्तिलाई आशा र प्रेरणा दिन चाहन्छु ।’
रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, त्यसपछि अफगानिस्तानमा भोगेको चोट, अनि अन्ततः सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई देखाइएको साहस—हरिको जीवन कथा अब भावी पुस्ता, विशेषगरी अपांगता भएकाहरूका लागि थप प्रेरणा दिने एउटा जीवित पाठशाला बन्नेछ ।
सन् २०२६ को जनवरीमा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मिटर) को पनि सफल आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्दै विश्वसामु नयाँ कीर्तिमान कायम गरे र नेपाल तथा नेपालीको नाम स्वर्ण अक्षरले लेखाउन सफल भए ।
‘यो जित केवल मेरो मात्र होइन, यो त सपना देख्ने र त्यसलाई पूरा गर्न अहोरात्र लड्ने हरेक व्यक्तिको हो ।’
उनको यो भनाइले अपांगता भएर निराशामा डुबेकाहरूलाई थप ऊर्जा प्रदान गर्ने मात्र नभई जीवनमा नयाँ अध्याय थप्न समेत प्रेरित गर्नेछ । हरिले आफ्नो जीवनबाट एउटा कुरा स्पष्ट पारेका छन् –शरीरमा कमी हुन सक्छ, तर साहसमा होइन ।

रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरिले बेलायती सेनामा भर्ती हुने सपना बोकेर १९ वर्षको उमेरमा आफ्नो सपना साकार पारे । रोयल गोर्खा राइफल्समा करिब डेढ दशक सेवा गर्ने क्रममा सन् २०१० मा अफगानिस्तानको लडाइँमा ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ विस्फोटमा परी उनले घुँडाभन्दा माथि दुवै खुट्टा गुमाए ।
तीन सन्तानका पिता उनलाई लाग्यो, अब मेरो जीवन समाप्त भयो । शारीरिक र मानसिक पीडाले लामो समयसम्म विक्षिप्त बने बुढामगर । पीडा भुल्न रक्सी पिउँदा–पिउँदा लत नै बस्यो । उनी बताउँछन्, ‘कहिलेकाहीँ त आत्महत्या गर्ने सोच समेत आउँथ्यो ।’
‘तर घर परिवार र सन्तानको मायाले मर्नु हुँदैन भन्ने लाग्यो । बरु म शारीरिक अशक्तता भुलेर आफूलाई साहसिक खेल गतिविधिमा केन्द्रित गराउन थालेँ,’ उनी भन्छन्, ‘स्किइङ, गल्फिङ, साइक्लिङ थालेपछि आत्मविश्वास बढ्दै गयो, यसले मेरो जीवन परिवर्तनमा ठुलो सहयोग गर्यो ।’
बुढामगर स्की खेल्न युरोप र अमेरिकासम्म पुगे । अपांगता भएर पनि स्की खेल खेल्ने उनी नेपालका पहिलो खेलाडी हुन् । माउन्टेनरिङसम्बन्धी तालिमपछि प्रशिक्षक भएर कामसमेत गरे । इच्छाशक्ति भए असम्भव केही छैन भन्ने पाठ सिके उनले ।
बुढामगर स–परिवार हाल बेलायतको क्यान्टबरीमा बस्दै आएका छन् । गत वर्ष मात्र हरिले बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए ।
बुढामगरले सन् २०१९ को अगस्ट १३ मा युरोपको मोन्ट ब्ल्याङ्क (४,८१० मि), २०२० को जनवरी ८ मा अफ्रिकाको किलिमन्जारो (५,८९५ मि), २०२३ को मे १९ मा नेपालको सगरमाथा (८,८४९ मि), २०२४ को जुन २८ मा उत्तर अमेरिकाको डेनाली (६,१९४ मि), २०२५ को फेब्रुअरी २२ मा दक्षिण अमेरिकाको एकोनकागुवा (६,९६१ मि) र २०२५ को अक्टोबर १८ मा ओसिनियाको कार्सटेन्ज पिरामिड (४,८८४ मि) को सफल आरोहण गरे ।
त्यसपछि सन् २०२६ को जनवरीमा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मिटर) को पनि सफल आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्दै विश्वसामु नयाँ कीर्तिमान कायम गरे र नेपाल तथा नेपालीको नाम स्वर्ण अक्षरले लेखाउन सफल भए ।
विश्वका सातै महाद्वीपका सर्वोच्च शिखरहरू अर्थात् ‘सेभेन समिट’ अन्तर्गतको अन्तिम चरणको आरोहण सफलतापूर्वक सम्पन्न गर्दै अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको तापक्रममा नेपाली झण्डा फहराएर उनले विश्वलाई एउटा स्पष्ट सन्देश दिए– ‘असम्भव केही छैन (नोथिङ इज इम्पोसिबल)।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



