फागुन २१ को निर्वाचन भयरहित बनाउन गृहमन्त्रीको निर्देशन
सातै प्रदेशका सुरक्षा अधिकारीसँग उच्चस्तरीय छलफल


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सातै प्रदेशका कर्मचारी नेतृत्व र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा आज आयोजित सुरक्षा सम्बन्धी उच्चस्तरीय छलफलमा उनले राष्ट्रिय सुरक्षाको जोखिम मूल्याङ्कन गरी प्रदेश तहबाटै सूचना सङ्कलन र विश्लेषणलाई तीव्र बनाउन जोड दिएका हुन्।
गृहमन्त्री अर्यालको अध्यक्षतामा भएको सो बैठकमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण र सीमा सुरक्षाका विषयमा गहन छलफल भएको थियो। मन्त्री अर्यालले कर्मचारीहरूलाई प्रशासकको भूमिकामा मात्र सीमित नभई सहजकर्ता र उत्प्रेरक बनेर काम गर्न आग्रह गरे।
उनले संघीयताको मर्मअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सुरक्षा संयन्त्रलाई चुस्त बनाउन निर्देशन दिँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न समेत ध्यान दिनुपर्ने बताए।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको सुरक्षा संवेदनशीलता र भौगोलिक अवस्थालाई ध्यान दिँदै विगतका कमीकमजोरी सुधार गर्नुपर्नेमा जोड दिए।
उनले निर्वाचन कमाण्ड पोस्टलाई सक्रिय बनाएर राजनीतिक दलहरूसँगको समन्वयमा स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएका छन्। गृहसचिवले सुरक्षा निकायहरूलाई ‘प्रोयाक्टिभ’ भएर कार्यसम्पादन गर्न समेत सचेत गराए।
छलफलमा सातै प्रदेशका प्रमुख सचिवहरू र गृह मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति थियो। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका प्रमुख सचिवहरूले आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएका थिए।
सरकारले आसन्न निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीति एकीकृत रूपमा अघि बढाउने तयारी गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




