शुक्रबार, २६ डिसेम्बर, २०२५
14:03 | १९:४८

नवनियुक्त परराष्ट्र मन्त्रीले ग्रहण गरे पदभार

नेपाली लिङ्क डिसेम्बर २६, २०२५

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन सम्बन्धमा छिमेकी देशहरूसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने उल्लेख गरे । मित्रराष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रूपमा अघि बढाउने प्रतिबद्धता उनको छ ।

‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खाली राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदूतहरूको आफूले विभिन्न मुलुकमा गरेका कामहरू हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ’, उनले भने ।

छिमेकी देशहरूसँग सकारात्मक रूपमा भूमिका खेल्ने उनको भनाइ छ । ‘मैले छिमेकी देशहरूसँग सकारात्मक रूपमा भूमिका खेल्छु । उनीहरू उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ’, शर्माले भने ।

मन्त्री शर्माले आजमात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । –न्यूज एजेन्सी नेपाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू