शनिबार, १३ डिसेम्बर, २०२५
07:55 | १३:४०

एमालेको ११ औँ महाधिवेशन आजदेखि शुरु, अध्यक्षमा ‌ओलीलाई इश्वरको काउन्टर

नेपाली लिङ्क डिसेम्बर १३, २०२५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौँ महाधिवेशन आज (शनिबार)देखि शुरु हुँदैछ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ शुरु हुन लागेको महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा हुने समारोहमा उद्घाटन गर्दैछन्।

हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै महाधिवेशन आयोजना गरिएको छ। दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो। जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो। नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ।

महाधिवेशनको उद्घाटन समारोहलाई प्रविधिमैत्री बनाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट प्रयोग गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई अध्यक्ष ओलीले रिमोटको माध्यमबाट बालेर महाधिवेशनको विधिवत् उद्घाटन गर्नेछन्।

११औँ महाधिवेशनको प्रतीक ११ वटा झण्डामध्ये १० वटा सुरुमै फहराइनेछ भने एउटा झण्डालाई रिमोटबाटै फहराउने तयारी गरिएको छ।

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा इश्वरको काउन्टर

गत भदौमा भएको विधान अधिवेशनबाट आफूअनुकूल विधान बनाएर फेरि पनि सर्वसम्मत अध्यक्ष बन्ने चाहना राखेका ओलीलाई वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले काउन्टर दिएका छन्। अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका पोखरेलले अन्तिम समयमा अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्न तयार भएका हुन्।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महसचिव शंकर पोखरेलले सांगठिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको प्रतिवेदनमाथि ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। उनले केन्द्रीय कार्यालयमा ‘अवधारणा–पत्र’ दर्ता गराइसकेका छन्।

अवधारणा–पत्रमा ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीको आन्तरिक लोकतन्त्रको सवाल उठाइएको छ। पोखरेल अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिने तयारीमा छन्।

२०७१ साउनमा भएको नवौँ महाधिवेशनमा ओलीले १५ वर्ष पार्टी महासचिव भइसकेका माधव नेपाललाई अध्यक्ष पदमा पराजित गरेर आफूलाई पार्टीमा बलियो सावित गरेका थिए। २०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित ओलीले पार्टी जीवनको लोकतन्त्रलाई नाम मात्रको बनाइसकेका थिए। त्यस महाधिवेशनमा संस्थापनविरुद्ध प्रतिस्पर्धा गरेका भीम रावल, घनश्याम भुसाल एमालेमा अटाउन नसक्ने अवस्था बन्यो।

अहिलेको महाधिवेशनमा संस्थापनविरुद्ध उत्रिएका वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य कर्ण थापाको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ। पोखरेलले निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्ने बताउँदै आएका छन्।

२ हजार बढी हुनेछन् प्रतिनिधि

महाधिवेशनमा जिल्ला, पार्टीका विभाग, भ्रातृ संगठनबाट निर्वाचित तथा केन्द्रीय कमिटीमा रहेका गरी २ हजार १५४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदै छन्। निर्वाचित प्रतिनिधि संख्याको पाँच प्रतिशत अर्थात् १ सय ८ जना केन्द्रीय सचिवालयले मनोनयन गर्ने व्यवस्था छ। केन्द्रीय सल्लाहकार परिषद्का ३ सय ९ जना पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन्।

महाधिवेशनमा ४० वर्षमुनिका १८.४ प्रतिशत अर्थात् ३ सय ९६ प्रतिनिधि रहेका छन्। सबैभन्दा धेरै प्रतिनिधि ५०–५९ उमेर समूहका ३४ दशमलव ८ प्रतिशत छन्। ४०–४९ वर्ष समूह २७.५ प्रतिशत (५९३ जना), ५०–५९ वर्षका ३४.८ प्रतिशत (७५० जना) र ६०–७९ वर्ष समूहका १७.३ प्रतिशत (३७३ जना) छन्। ७० वर्षमाथिका महाधिवेशन प्रतिनिधि १.९ प्रतिशत (४२ जना) छन्।

पोलिटब्युरो सदस्य भानुभक्त ढकालका अनुसार महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन हुँदै छन्। महाधिवेशनको उद्घाटनमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् भने नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महामन्त्री कविन्द्र बुर्लाकोटी उपस्थित हुने भएका छन्। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ।

महाधिवेशन उद्घाटनका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलाई सिँगारिएको छ। चाँगुनारायण, ललितपुरको कृष्ण मन्दिर, भक्तपुरको न्यातपोल, पचपन्न झ्याले, पशुपतिनाथ, धरहरालगायत सम्पदाका चित्रले मञ्च सिँगारिएको मञ्च व्यवस्थापन समितिका संयोजक नेता विनोद श्रेष्ठले जानकारी दिए।

मञ्चमा अध्यक्ष केपी शर्मा ओलीको ‘कटआउट’ राखिएको छ। महाधिवेशनको लोगोमै धरहराको चित्र छ। एमाले अध्यक्ष ओलीले भूकम्पपछि धरहरा पुनर्निर्माणलाई गौरवका रूपमा प्रस्तुत गर्दै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू