आइतबार, १७ मे, २०२६
21:36 | ०२:२१

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नेपाली लिङ्क डिसेम्बर १२, २०२५

काठमाडौँ । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए।

इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंलाई वन तथा वातावरण र श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

चार मन्त्री थपिएसँगै कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

यस्ता छन् नवनियुक्त मन्त्रीहरु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी श्रद्धा श्रेष्ठ दुई दशकदेखि नेपाली पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति हुन्। पछिल्लो समय टुरिजम बोर्डकी सिनियर म्यानेजर थिइन्।

अमेरिकी स्टेट डिपार्टमेन्टको हम्फे फेलो उनीसँग दिगो पर्यटन विकासका क्षेत्रमा काम गरेको अनुभव पनि छ।

वन तथा वातावरण मन्त्री बनेका माधव चौलागाइँ कर्णाली विकासको क्षेत्रमा काम गर्दै आएका अनुसन्धानकर्ता हुन्। ग्रामीण विकासका कार्यक्रमहरूमा काम गरेका उनको एनजिओकर्मीको पनि पहिचान छ।

जनसंख्या, संस्कृति, पर्यटन, स्वास्थ्य र दुर्गम क्षेत्रको विकासमा अनुसन्धानकर्ता उनका कर्णालीको विकाससम्बन्धी लेख तथा पुस्तक प्रकाशित छन्।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का पहिलो निर्देशक उनी अवकासपछि सुरक्षा विश्लेषक एवं सुरक्षा विज्ञको रूपमा लेख्दै बोल्दै आएका थिए।

पछिल्लो पटक उनी औषधी व्यवसायमा पनि हात हालेका थिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम प्राध्यापक हुन्। काठमाडौं स्कूल अफ लका क्याम्पस प्रमुख उनी अन्तर्राष्ट्रिय व्यापार कानुनका विज्ञ मानिन्छन्।

अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता, विश्व व्यापार संगठन कानुन, वित्तिय अपराध कानुनमा विशेषज्ञता हाँसिल गरेका उनले डब्लुटिओको कानुनी पक्ष समेटेर पुस्तक पनि लेखेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू