मंगलबार, २५ नोभेम्बर, २०२५
18:55 | ००:४०

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

नेपाली लिङ्क नोभेम्बर २५, २०२५

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने विश्वास रहेको भन्दै उपाध्यक्ष पोखरेलले अभिभावकीय भूमिका निर्वाह गर्दै सहज निकास दिन ओलीलाई आग्रह गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु। पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु।’

उनले पार्टीको रक्षामार्फत् नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरेको प्रसंग निकाल्दै उपाध्यक्ष पोखरेलले चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान दिएकी पार्टीको पूर्वउपाध्यक्ष तथा राष्ट्रपति समेत भइसकेको व्यक्तिलाई पार्टी काममा फर्किने वातावरण मिलाउनु पर्ने बताएका छन्।

आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा एमालेको ११ औँ महाधिवेशन हुँदै छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू