रवि र छविको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश



लुम्बिनी । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको सुनुवाइका लागि आज बिहीबार पेसी तोकिएको थियो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइल मगाउने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
यसअघि यही कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।
बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न सभापति लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि सभापति लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत निवेदनसाथ पेस गरेका थिए । गत साउन २६ गते जिल्ला अदालतका न्यायधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
लामिछानेले जस्तै जोशीले त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश जिल्ला अदालतले गरेको थियो । पुर्पक्षका लागि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा राखिएको छ ।



