सोमबार, २० अक्टोबर, २०२५
18:56 | २३:४१

बेलायतनिवासी साहित्यकार पोख्रेल ‘विश्व ज्योति सृजनशील सम्मान २०८२’ बाट सम्मानित

नेपाली लिङ्क अक्टोबर २०, २०२५

चितवन, कात्तिक ३–नेपाल भ्रमणमा रहेका बेलायतनिवासी साहित्यकार दुर्गाप्रसाद पोख्रेल ‘विश्व ज्योति सृजनशील सम्मान २०८२’ बाट सम्मानित भएका छन्।

विश्व ज्योति वाचनालय एवं सिकाई केन्द्र र विश्व ज्योति काली समुद्रा मन्दिर, राधापुर, चितवनको संयुक्त तत्त्वावधानमा आज आयोजित ११७औं लक्ष्मी जयन्ती तथा स्रष्टा सम्मान कार्यक्रमका अवसरमा पोख्रेललाई सो सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व जिल्ला शिक्षा अधिकारी श्यामजी अतिथि सिंखडा र संस्थाका अध्यक्ष शिक्षाविद् भवानी प्रसाद पौडेलले पोख्रेललाई सम्मानपत्र नगद, पुरस्कार र दोसल्लासहित सम्मान गरेका थिए।

कार्यक्रममा साहित्यकार पोख्रेलले विश्व ज्योति वाचनालयले साहित्य, संस्कृति र भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै भने, “विदेशमा रहे पनि आफ्नै भाषा, साहित्य र संस्कृतिप्रति म निरन्तर योगदान गरिरहेको छु र यो पुरस्कारले थप प्रेरणा थपेको छ ।”


कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो। साथै, विभिन्न विद्यालयहरूले देउसी–भैलोका आकर्षक प्रस्तुति दिएका थिए र उत्कृष्ट समूहलाई पुरस्कार प्रदान समेत गरिएको थियो।

कार्यक्रममा कवि, साहित्यकार, शिक्षाविद् तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू