जेनजी पुस्तालाई नेपालको इतिहास पढ्न, मौलिकता चिन्न र संस्कार-संस्कृति नबिर्सन आग्रह



काठमाडौँ – काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य गुरु डा चिन्तामणि नाथ योगीले जेनजी पुस्तालाई नेपालको इतिहास पढ्न, मौलिकता चिन्न तथा संस्कार र संस्कृतिलाई नबिर्सन आग्रह गरेका छन्।
तिहार तथा शुभ दीपावलीको अवसरमा चेतना यात्रा युकेद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा योगीले भने, “हाम्रा जेन जीले देउसी, भैलो खेल्नु पर्छ, हिमाल, पहाड, तराई चिन्नु पर्छ। नेपालको इतिहास पढ्नु पर्छ। ”
कहिलेकाहीं रौद्र रुप पनि आवश्यक पर्छ, तर अब नेपालमा विध्वंश हैन सिर्जना र अशान्ति हैन शान्ति र सद्भाव चाहिएको उनले बताए।
विश्व ओमकार एकता महाअभियानका मुख्य संयोजक पनि रहेका डा योगीले तिहारको महत्वबारे प्रकाश पार्दै भने, “लक्ष्मीको पूजा गर्न पाइन्छ तर चोरी गर्न पाइंदैन। लक्ष्मीको चोरी गर्ने व्यक्ति संसारको कुनै देशमा गए पनि सुरक्षित हुन सक्दैन।”
“नेपाल अहिले अन्धकारमा फसेको छ, औंशीमा फसेको छ। प्रेमको दीप, श्रद्धाको दीप, आशाको दीप जगाउने बेला यही हो।’जननी जन्म भूमिश्च स्वर्गादपि गरायसी,’ सबैले सबैलाई अंकमाल गर्ने, स्वीकार गर्ने संस्कृति विकास गर्नु पर्छ,” उनले भने। त्यस्तो संस्कार विकास गर्नका लागि अहिले ‘हार्दिक नेपाल अभियान’ सुरु गरिएको पनि उनले बताए।
आध्यात्मिक गुरु चैतन्य कृष्णले यही अक्टोबर ४ देखि नोभेम्वर ५ सम्म संचालन भइरहेको उत्तरगण्डकी- महामेला दामोदर धर्मोत्सवमा सपरिवार सहभागी हुन सबैलाई निमन्त्रणा गरे। “तीर्थलाई पनि तीर्थ बनाउने पवित्र काली गण्डकी क्षेत्रमा आयोजना भइरहेको उत्तरगण्डकी- महामेलामा अपूर्व उपस्थिति भइरहेको छ। भारतबाट पनि ठूलो संख्यामा विद्वत् वर्ग, भक्तजनहरु आइरहनु भएको छ। दुई लाख शालग्रामको केन्द्र बन्दैछ। अस्पताल चलिरहेको छ, गुरुकुल चलिरहेको छ। एक हजार व्यक्तिहरुले योग ध्यान गर्न सक्ने आध्यात्मिक केन्द्र बनाउन प्रयास गरिरहेका छौं। आध्यात्मिक पर्यटनको माध्यमबाट नेपाल समृद्ध बन्न सक्छ,” उनले भने।
बेलायतमा कार्यरत डा दीपक उपाध्यायले नेपालमा हालै भएको जनधनको क्षतिले संसार भरिका नेपालीहरु दुखी भएको बताए। उनले नेपालमा छिट्टै शान्ति र सद्भाव कायम होस् भन्ने कामना पनि गरे।
श्री पशुपतिनाथ मन्दिर, बर्मिङ्घममा सेवारत पं रेवतीरमण पौडेलले ३० वर्ष मुनिका युवाहरुको सहभागितामा अनुकीर्तन नामको समूह गठन गरी प्रत्येक महिना भजन कीर्तन गर्ने, घर घरमा चेतना प्रवाह गर्ने अभियान सुरु गरिएको बताए । “अहिले मन्दिरमा २ जना पण्डित छौं। बेलायतभरि सेवा पुराउन सक्छौं,” उनले भने।
विश्व हिन्दु महासंघ युकेसंग आबद्ध सेवानिवृत्त मेजर सूर्य प्रसाद उपाध्यायले संचालन गरेको भर्चुएल कार्यक्रममा काउन्सिलर दिनेश खड्का, डा भवानी दत्त,
श्री पशुपतिनाथ मन्दिर, बर्मिङ्घमका अध्यक्ष खेम बसेल, वसन्त अर्याल, शेखर पौडेल, श्याम भुसाल, पत्रकार भगीरथ योगी, गोविन्द देवकोटा, सुरज तिमिल्सिना, सहृदयता अन्तरराष्ट्रियका राजन भारद्वाज लगायत वक्ताले शुभकामना दिएका थिए ।
झन्डै पांच वर्ष पहिले कोभिड महामारीको बेलामा गुरु डा चिन्तामणि नाथ योगीको पहलमा सुरु गरिएको चेतना यात्रा युके अभियानले नेपालको धर्म, संस्कृति र सम्पदाको विषयमा नियमित चर्चा र छलफल गर्ने गरेको छ।