आइतबार, १२ अक्टोबर, २०२५
23:59 | ०४:४४

सर्वोच्च अदालतले असोज २८ देखि रिट दर्ता र सुनुवाइ गर्ने

रासस अक्टोबर १२, २०२५

भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट भएको थियो

काठमाडौँ, असोज २६ गते । सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो ।

“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ”- सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, “साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू