आइतबार, १२ अक्टोबर, २०२५
22:59 | ०३:४४

पूर्वसभामुख महरा दोस्रो पटक पक्राउ

नेपाली लिङ्क अक्टोबर १२, २०२५

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई खुमलटारस्थित उनकै निवासबाट पक्राउ गरेको छ।

सीआईबीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको विमानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले ल्याएका ७३ बट्टा भेपभित्र लुकाइएका ९ किलो सुनसहितका सामग्री सम्बन्धी अनुसन्धानका क्रममा महरालाई पक्राउ गरिएको हो।

ती भेपहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएको थियो र त्यसमा लुकेको सुन बेचबिखन गरी करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको आपराधिक लाभ लिएको प्रमाण फेला परेपछि महरालाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।

सीआईबीका अनुसार, महरालाई भन्सार ऐन २०६४ र संगठित अपराध कसूर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि २०७८ असोज २६ गते पक्राउ गरिएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा संलग्न रहेको पुष्टि भएका कारण उनलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।’

नेपाल प्रहरीले यो प्रकरणलाई भन्सार छली तथा संगठित अपराधअन्तर्गतको ठूलो आपराधिक जालो मानेर थप अनुसन्धान जारी राखेको जनाएको छ। अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई २०८० चैत ५ मा पनि भारत भाग्न लागेको आशंकामा घेरा हालेर रुपन्देहीबाट पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू