मंगलबार, १४ अक्टोबर, २०२५
18:24 | २३:०९

जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार प्रमुख राईको राजीनामा

नेपाली लिङ्क अक्टोबर ६, २०२५

काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ।

जेनजी आन्दोलन भ्रष्ट्रचारविरुद्धको अभियान पनि रहेकोले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो।

जेनजी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ।

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो। तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन्।’

अलायन्सका अनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ।

जेनजी मुभमेन्ट अलायन्सले विशेष अदालतको हालसालैको निर्णयलाई समेत उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ।

अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणी उल्लेख भएपछि उनीहरूको राजीनामा माग झनै बलियो बनेको समूहले बताएको छ।

विज्ञप्तिमा राईको संलग्नता देखिएका ठूला मुद्दाहरू नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुखको संलग्नतासँग जोड्दै उनीमाथि नैतिक जिम्मेवारी लिन र तत्काल राजीनामा दिन माग गरिएको छ।

विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत् पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत् निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ।

नयाँ नियुक्तिहरू पहुँचवालाको बन्द सूचीबाट नभई सबै योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ।

जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

हेर्नुस् अख्तियार प्रमुख प्रेमकुमार राईलाई राजीनामाका लागि लेखिएको दबाब पत्र-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू