सगरमाथा आरोहण गर्ने सयौं पर्यटक अलपत्र



काठमाडौं । तिब्बतको माउन्ट एभरेष्ट क्षेत्रको दुर्गम पूर्वी भागमा आएको तीव्र हिमपातका कारण करिब १ हजार मानिस क्याम्पसाइटहरूमा फसेका छन्।
उद्धार टोलीले अहिले ती व्यक्तिहरूलाई सुरक्षित स्थानमा पुर्याउने प्रयास गरिरहेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, स्थानीय बासिन्दा र उद्धारकर्मीहरू सयौंको संख्यामा परिचालित गरिएको छ, जसले करिब ४ हजार ९०० मिटर अर्थात १६ हजार फिट उचाइमा रहेका हिम क्षेत्रका बाटोमा जमेको हिउँ हटाउने काम गरिरहेका छन्।
स्थानीय मिडियाका अनुसार हालसम्म ३५० जनालाई उद्धार गरी कुदाङ टाउनसम्म पुर्याइएको छ। हिमपात शुक्रबार साँझदेखि शुरु भएको र त्यसपछि लगातार तीव्र बनेको बताइएको छ। यो क्षेत्र सामान्यतया पर्वतारोहण र ट्रेकिङका लागि लोकप्रिय मानिन्छ। यस वर्षको मौसम असामान्य रहेको र पथ प्रदर्शकले पनि अक्टोबरमा यस्तो मौसम कहिल्यै नदेखेको बताएका छन्।
तिब्बतको ब्लू स्काइ रेस्क्यु टिमका अनुसार, हिउँको भारले कयौँ टेन्टहरू भत्किएका छन् र केही ट्रेकर हाइपोथर्मियाबाट पीडित छन् भन्ने सूचना प्राप्त भएपछि उद्धार टोली परिचालन गरिएको हो। टिङ्री काउन्टी टुरिज्म कम्पनीले एभरेष्ट सीनिक क्षेत्रका लागि टिकट बिक्री र प्रवेश अनुमति शनिबारदेखि निलम्बन गरेको जनाएको छ।
८ हजार ८ सय ४९ मिटर उचाई भएको विश्वकै अग्लो शिखर सगरमाथा (माउन्ट एभरेष्ट) आरोहण गर्न प्रत्येक वर्ष हजारौं मानिसले प्रयास गर्छन्। तर पछिल्ला वर्षहरूमा भीड, वातावरणीय क्षति र बढ्दो मृत्युदरका कारण यो क्षेत्र चिन्ताको विषय बन्दै आएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५