दशैँको मुखमा गाडी दुर्घटनामा एकै घरका तीनको मृत्यु



काठमाडौं । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३, चोरखोलामा आज बिहान फोर्स गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान करिब ४ बजेतिर लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
सल्यान जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी ६८ वर्षीया पबी केसी, उनका देवरका छोराहरू अन्दाजी २५ वर्षीय प्रकाश केसी र अन्दाजी २७ वर्षीय शशीधर केसीको मृत्यु भएको हो।
उनीहरूको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।
पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताको आधारमा गरेको गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यस्तै दुर्घटनामा अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन्। उनीहरू पनि मृतक पबीका आफ्नै छोराछोरी हुन्।
घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपश्चात् थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगन्ज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।
बाँफीकोट गाउँपालिका-५ का वडाध्यक्ष मनु शाहीका अनुसार पबी केसीलाई उपचारका लागि नेपालगन्ज लिदै गर्दा गाडी दुर्घटनामा परेको हो।
“उहाँहरू एउटै घर परिवारका सदस्य हुनुहुन्छ। पबी केसीलाई पेटको समस्या भएका कारण उपचारमा जाँदै हुनुहुँदो रहेछ” उनले भने, “तर, दसैँको मुखैमा दु:खद घटना भयो।”
वडाध्यक्ष शाहीका अनुसार पबी केसी पहिलादेखि नै पेटको समस्याले पीडित थिइन्। धेरैपटक बाहिर लगेर पनि उपचार गरिएको थियो।
वडा अध्यक्ष शाहीका अनुसार केही दिनअघि मात्रै चौरजहारी अस्पतालमा ‘चेकअप’ गर्न लैजाने भनेर उनको घरमा रहेको स्ट्रेचर पनि मागेर लगेका थिए। त्यहाँ जाँच गरेपछि नेपालगन्ज लैजान रेफर गरेको हुनसक्ने वडाअध्यक्ष शाहीले बताए। गाडी पनि केसी परिवारभित्रकै रहेको वडाध्यक्ष शाहीले बताए।
गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



