बिहीबार, ३० अक्टोबर, २०२५
23:11 | ०४:५६

घटस्थापनायता उपत्यकाबाट बाहिरिए दुई लाख ६७ हजार

रासस सेप्टेम्बर २७, २०२५

काठमाडौँ । असोज ६ गते घटस्थापनाका दिनदेखि आजसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ ।

नागरिक उपत्यका छोडेर गृहजिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिक रूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यही असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

उनले भने- ‘काठमाडौँबाट बाहिरिनेको सङ्ख्या बढ्दो क्रममा छ । ठूलो सङ्ख्यामा नागरिक र सवारीसाधन बाहिरिन थालेपछि राजमार्गमा सवारी चाप बढ्दो छ ।’

घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकामा ४१ हजार ५१४ वटा सवारीसाधन भित्रिएका छन् भने कूल एक लाख ५६ हजार ७८६ जना यात्रुहरू काठमाडौँ भित्रिएका प्रहरी उपरीक्षक सुवेदीले बताए ।

उनका अनुसार यो तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यस्थलतर्फ गएका र भित्रिएका यात्रुरूको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू