बिहीबार, ३० अक्टोबर, २०२५
23:22 | ०५:०७

ओली आक्रोश- ‘हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौँ?’

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२५

काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैंको अवसरका खुला भेटघाट’ कार्यक्रममा अध्यक्ष ओलीले आफूहरु विदेश नभाग्ने बताएका हुन्।

सरकारले केही नेताहरुको पासपोर्ट रोक्का गर्ने लगायतका समाचारप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले भने, “यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौँ? हामीले यो देश बनाउनु पर्नेछ। फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौँ। शान्ति सुशासनमा फर्काउँछौँ।”

वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड र आगजनीबाट बनेको ओलीले आरोप लगाए। आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उनले थपे, “यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्याओस्। हिम्मतका साथ प्रकाशित गरोस्। मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्याओस्। अरुको पनि ल्याओस्। उहाँहरुका पनि ल्याओस्।”

उनले आफू अहिले बसेको घर ‘लोकेट’ गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गरे। “अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर लोकेट गरेर हमला गर्न जाऔँ भनेर तोकिएको छ, सरकार के हेरेर बसेको छ?” उनले भने, “सरकार अहिले सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा लाउँछु भन्दै छ। असुरक्षामा देश हाल्ने अनि सुरक्षा दिनुपर्छ कि पर्दैन?”

तीन पार्टीका शीर्ष नेताहरुमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा अझैँ पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। मा‌ओवादी अध्यक्ष प्रचण्ड भने आन्दोलनको केही दिनपछि नै पार्टीका कार्यक्रम र बैठकहरुमा सक्रिय भइसकेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू