तुइनखोलामा फेरि खस्यो भयंकर सुख्खा पहिरो, सडक पूर्ण अवरुद्ध



काठमाडौँ । मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै आज (मंगलबार) फेरि ठूलो सुख्खा पहिरो खसेको छ।
पहिरो साँझ ४ बजेर ५५ मिनेटमा खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको र सडक खुलाउन कति समय लाग्छ भन्ने सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। त्यस्तै कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ।
दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक केहीबेर सञ्चालनमा आएको थियो। तर फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो।
तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन। सडकमा दसैँका लागि घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्।
चितवन प्रशासनको आग्रह- ज्यान बचाऔँ, यात्रा पछि गरौँला
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएकाले यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।
आज एक विज्ञप्ति जारी गरी चितवन प्रशासनले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सकभर यात्रामा ननिस्कन आग्रह गरेको हो।
यात्राका क्रममा समस्या परेमा फिल्डमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग सहयोग लिन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो अनुरोध छ, जोखिम मोलेर यात्रा नगरौं, ज्यान बचाऔं यात्रा पछि गरौंला, घुमेरै यात्रा गरौं। बाटो खुल्ने आशामा आफै दुःख हैरानीमा नपरौं।”
सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन र सुरक्षाकर्मीहरूले यात्रु तथा सवारी धनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटार मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
प्रशासनले जोखिम मोलेर यात्रा समेत नगर्न आग्रह गरेको छ। आफ्नो ज्यान बचेमा पछि पनि यात्रा गर्न सकिने जारी सूचनामा उल्लेख छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



