दशैँमा घर जानेलाई सास्तीः सडकको बेहाल, हवाइ भाडा दोब्बर



काठमाडौँ । दशैँको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँतिर जानेहरूको घुँइचो बढ्न थालेको छ।
दशैँ लागिसक्दा पनि नसकिएको वर्षाले देशभरको सडकको अवस्था भने विकराल छ। ठाउँ ठाउँमा आएको पहिरोले सडक अवरुद्ध छ भने भएका सडकको हालत पनि विजोग छ।
सडकको अवस्थाले सार्वजनिक सवारी साधन नियमित चल्न नसक्दा धेरैजसो यात्रुहरु गन्तव्यतर्फ जान सकेका छैनन्। दशैँमा घर जानेहरुको भीडले सार्वजनिक सवारी साधनमा टिकट पाउनै मुस्किल छ। दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा दोब्बर भइसकेको छ। यसरी यात्रुहरू दोहोरो मारमा पर्नु हरेक दशैँको नियति जस्तै बनिसकेको छ।
पछिल्ला केही दिन राजधानीको लाइफलाइन मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो खस्दा हजारौँ सवारी साधन बाटोमै अलपत्र परेका छन्। त्यस्तै अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगायतका देशका विभिन्न सडकहरु कतै भासिने, पहिरोले पुर्ने त कतै बाढीले बगाउँदा ठूलो समस्या बनेको छ।
दशैँमा काठमाडौँ उपत्यका छाड्नेहरूको सङ्ख्या उच्च हुने र त्यही बेला सडकमार्गको ठेगान नहुने जोखिमले हवाई भाडादर आकासिएको छ । अन्य समयको भन्दा हवाइ सेवा प्रदायक एयरलाइन्सहरुले झण्डै दोब्बरसम्म भाडा बढाएका छन्।
यातायात व्यवस्था विभागले सूचना सार्वजनिक गर्दै मनसुन सक्रिय रहेको र वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
दसैँको बेला घर फर्किने धेरै यात्रुहरू सडकको दुरावस्था, राजमार्गहरूमा देखिएको निरन्तरको अवरोध र हवाई भाडाको अत्यधिक वृद्धिको चेपुवामा छन्। सरकारले सडक मर्मत र हवाई भाडा नियमनमा तत्काल ध्यान दिनु जरुरी रहेको जानकारहरु बताउँछन्। यस्तो समस्या यो वर्ष मात्रै होइन, सधैँको समस्या बन्ने गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



