शुक्रबार, ३१ अक्टोबर, २०२५
04:12 | ०९:५७

के काम गर्नेछ कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले?

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौँ । सरकारले आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी छन्।

आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको प्रहरी दमन र आन्दोलनकारीले गरेको विध्वंशबारे छानबिन गरेर सिफारिस गर्ने अधिकार पाएको छ।

आयोगलाई भदौ २३ र २४ गते भएका घटनाका दोषी किटान गर्दै कारबाही सिफारिस गर्न तीन महिनाको समय तोकिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।

आन्दोलनको पहिलो दिन २३ गते आन्दोलनकारीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको र २४ गते आन्दोलनकारीले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयसहित निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेका थिए।

अहिलेसम्मको विवरण अनुसार आन्दोलनका क्रममा मारिनेको संख्या ७४ पुगेको छ। जसमा आन्दोलनकारी, प्रहरी र जेलबाट भाग्न लागेका कैदीबन्दी र आगजनीमा जलेकाहरू पनि छन्। ठूलो जनधनको क्षति भएपछि दुवै पक्षले घुसपैठ भएको बताइरहेका बेला सरकारले जाँचबुझ आयोग गठन गरेको हो।

जाँचबुझ आयोगको अध्यक्ष बनेपछि कार्कीले आन्दोलनमा सरकारी पक्षबाट भएको ज्यादती र देश जलाउने गल्तीको छानविन हुने बताए। किशोर बालबालिकाहरुको ज्यान जानु र देश जलाउने गलत काम क-कसको गल्तीले हुन गयो, त्यसको छानबिन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने अध्यक्ष कार्कीले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू